दार्चुला । प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा समस्या नभएर नेपालको पवित्र भूभाग भएको बताउनुभएको छ ।
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा लिपुलेक र लिम्पियाधुरलाई समस्या लेखिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । उहाँले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा भूमि फिर्ता सम्बन्धी स्पष्ट कुरा गर्न सुझाव दिनुभयो ।
ओलीले भन्नुभयो, संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा लिपुलेक र लिम्पियाधुरालाई समस्या भन्नुभएको छ । यो समस्या नभएर नेपालको पवित्र भूभाग हो । उहाँले प्रधानमन्त्री देउवालाई लिम्पियाधुरा कालापानी फिर्ता ल्याउँछु भनेर किन भन्न नसकेको भन्दै प्रश्न गर्नुभयो ।
लिम्पियाधुरा, कालापानी, लिपुलेक समस्या हैन, हाम्रो पवित्र अभिन्न भूभाग हो । सरकारले हाम्रो भूमि हामी फिर्ता लिन्छौं भन्नुपर्छ कि ? यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ? सरकारलाई ओलीले प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, डराउनुको पनि हद हुन्छ नि, कति डराएको यो सरकार । कहाँकहाँ सीमा विवाद छ भनेर किन भनिएन ? तपाईंहरूले सक्नुभएन भने डेढ वर्ष पख्नुस हामी छौँ ।
यसैबिच प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले अमेरिकासँग गरिएको मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) बारे साझा न्यूनतम कार्यक्रममा के गर्ने भन्ने उल्लेख गर्न बिर्सिएको हो भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्नुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै ओलीले साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे उल्लेख गरेको नपाएको भन्दै सोध्नुभयो, संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा साना कुरा गरेको छ । अहिलेको गठबन्धन सरकार हुँदा एमसीसी गर्नुभएको थियो । साझा न्यूनतम कार्यक्रममा एमसीसी बिर्सिनुभयो क्या हो ।
प्रधानमन्त्री देउवालाई १ सय ६५ सांसदको समर्थन रहेको भन्दै त्यसले के गर्छ भनेर उहाँले देउवालाई प्रश्न गर्नुभयो । उहाँले यसबारे जनताले जान्न चाहेको धारणा राख्नुभयो । देउवालाई समर्थन गर्ने सांसदहरूलाई जत्था को संज्ञा दिँदै ओलीले भन्नुभयो, तपाईं त बहुत मजबुद प्रधानमन्त्री हुनुहुन्छ । १६५ सिट तपाईंको साथमा छ । तपाईंको पछाडि छ । स्ट्रोङ, कसैको साथ चाहिँदैन तपाईंलाई । कसैको मद्दत चाहिँदैन तपाईंलाई । त्यो १६५ को सबल जत्थाले के भन्छ ? एमसीसी पास गर्ने, फेल गर्ने कि चुप लाग्ने ?
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया