दार्चुला । दार्चुला–बैतडी जोड्ने कर्कले बेली ब्रीज (पुल) मर्मतका बिषयमा सरोकारवालाहरुले छलफल गरेका छन् । चमेलिया जलविद्युत केन्द्रको कार्यालयमा सोमबार बसेको बैठकले दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वर जोड्ने बेलीब्रीज भाँसिएकाले मर्मतका लागि सम्बन्धित निकायहरुमा लेखेर पठाउने निर्णय भएको शैल्यशिखर नगरपालिकाका प्रवक्ता भरतबहादुर खडायतले जानकारी दिनुभयो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीको अध्यक्षतमा बसेको बैठकमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीसहित शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका र बैतडीको डिलाशैनी गाउँपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । यस्तै चमेलिया जलविद्युत केन्द्र, मकरीगाड जलविद्युत आयोजना, माथिल्लो चमेलिया जलविद्युत आयोजना र नौगाड जलविद्युत आयोजनाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । कर्कले पुल भएर दार्चुला तथा बैतडीका विभिन्न ठाउँमा पुगिने भएकाले सो पुल मर्मतका लागि गृह मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र दुवै जिल्लाका सांसदहरुलाई लेखेर पठाउने निर्णय भएको उहाँले बताउनुभयो ।
कर्कले बेलब्रीजको दार्चुलातर्फको पिल्लर भासिएकाले ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पुल मर्मत नहुँदा सम्म ठूला सवारी साधन सञ्चालन गरेमा दुर्घटनाको जोखिम हुने भएकाले सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । पुल भासिएपछि दार्चुलाको नौगाड, मार्मा र अपिहिमालको यातायातमा समस्या हुनुका साथै शैल्यशिखर र बैतडीको डिलाशैनीको केही भागमा यातायात सञ्चालनमा समस्या भएको छ । सर्वपक्षीय बैठकले पुल मर्मतको कामका साथ साथै वैकल्पिक सडक स्तरोन्नतीको कामलाई समेत अघि बढाउने निर्णय भएको छ ।
बैतडीको देवझाडी–सेरा–नागिनी–कर्कले सडकलाई स्तरोन्नतीका लागि पहल गर्ने निर्णय भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताउनुभयो । यो सडक स्तरोन्नती गरेमा दार्चुलाका अपिहिमाल, मार्मा र नौगाडका बासिन्दा समेत लाभान्वित हुने भएकाले कर्कले पुलको वैकल्पिक मार्गको रुपमा उक्त सडकलाई स्तरोन्नती गर्ने निर्णय भएको हो । सडक मर्मतका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालय र निकायहरुलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता भट्टले बताउनुभयो ।
मंसिर पहिलो साता कर्कले पुलको पिलर भासिएपछि दुर्घटनाको जोखिम बढेको छ । उक्त पुल भएर साना सवारी साधन सञ्चालनमा रहेका भएपनि दुर्घटनाको जोखिम भने कायमै रहेको छ । पुल मर्मतको कामका साथै वैकल्पिक सडक मर्मतको कामलाई समेत अगाडि बढाउने निर्णय भएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया