शिक्षा, स्वास्थ्य, रोजगारी र पुर्वाधार विकास प्राथमिकतामा छः मालिकार्जुन गा.पा.अध्यक्ष धामी

दार्चुलाको मालिकार्जुन गाउँपालिका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण स्थानीय तह हो । संघीयतापछि आठ वडामा विभाजित मालिकार्जुन गाउँपालिका साविकका मालिकार्जुन, डाडाकोट, उकु, भगवती, हुनैनाथ र शंकरपुर गाविस समेटिएर बनेको छ । मालिकार्जुन गाउँपालिकाको पूर्वमा शैल्यशिखर नगरपालिका, पश्चिममा पवित्र माहाकाली नदी (भारतको सिमाना), उत्तरमा महाकाली नगरपालिका र दक्षिणमा लेकम गाउँपालिका रहेको छ । मालिकार्जुन गाउँपालिकामा पवित्र धार्मिक एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालकै सात धाम मध्येको शैल्यशिखर मालिकार्जुन लगायत विभिन्न देवीदेवताका मन्दिरहरु, उकु महल लगायत सम्पदाहरु र खोलानाला, वनजंगल, ढुङ्गा, स्लेट, जडीबुडी, वन पैदावार, कृषि, पशुपालन, नगदेबाली लगायतका थुप्रै स्रोत र सम्भावना रहेका छन् । यतिबेला प्रस्तुत छ, नेकपा (एमाले) बाट स्थानीय तह निर्वाचन २०७९ मा मालिकार्जुन गाउँपालिका अध्यक्ष पदमा निर्वाचित हिरासिंह धामीसंग गोरखापत्रका लागि दार्चुला समाचारदाता लोकेन्द्रप्रसाद जोशीले गर्नुभएको संक्षिप्त कुराकानी

मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि के–के काम गर्नुभयो ?

मालिकार्जुन गाउँपालिकामा जनताले निर्वाचित गरेदेखि नै हामी योजनाबद्ध ढंगले काम गरिरहेका छौँ । खासगरी शिक्षा, स्वास्थ्य र रोजगारीका माध्ममबाट समृद्ध मालिकार्जुन, सुखी मालिकार्जुनबासी बनाउने गरी पहिलो वर्षको नीति कार्यक्रम कार्यान्वयन गरेका छौँ । पहिलो वर्षलाई सिकाईको वर्षका रुपमा समेत लिएर चालु आर्थिक वर्षमा विकासका सबैजसो क्षेत्रलाई उचित सम्बोधन हुने गरी सुशासनसहित पुर्वाधार र सामाजिक विकासको क्षेत्रमा काम गरिरहेका छौँ । नेपालको संविधानले प्रदान गरेको हक अधिकारको परिधिभित्र रहेर मालिकार्जुनको विकास र समृद्धि गर्ने गुरुयोजनाका साथ हामी अगाडी बढिरहेका छौँ । गाउँपालिकाको भवन समेत हामीले आइसकेपछि निर्माण कार्य सुरु भएको छ । अरु थुप्रै विगतमा रोकिएका र सुरुवात नभएका जनसरोकारका कामहरु गरिरहेका छौँ ।

शिक्षा क्षेत्रमा के के काम गर्नुभयो ?

हामीले निर्वाचित भएर आएपछि सामुदायिक विद्यालयहरुको दयनिय अवस्था रहेको विद्यमान परिस्थितिमा सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न १५ वर्षे शैक्षिक गुरुयोजना निर्माण गरेका छौँ । आवश्यक ऐन, नियम, कार्यविधि तयार गर्दै शिक्षा क्षेत्रमा अबको ५ वर्षभित्र, १० वर्षभित्र र १५ वर्षभित्र के के काम गर्ने भनेर योजना बनाइसकेका छौँ । शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा ऐन, नियमावली ल्याएर कार्यविधि निर्माण गर्दै सामुदायिक विद्यालयको अवस्था बुझ्दै विद्यार्थी अनुपातमा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गर्ने काम गरेका छौँ । पहिलो वर्ष एक करोड ३० लाखको शिक्षा विकास कोषको स्थापना गरी विषयगत शिक्षकको व्यवस्थापन गर्न पालिकास्तरीय राहत दरबन्दी सिर्जना गरेका छौँ । गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्यले शिक्षाका आवश्यक पुर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन गरेका छौँ । विगतमा स्वयमसेवक शिक्षकका रुपमा राखिएको भएपनि क्षमताका आधारमा राहत शिक्षक व्यवस्थित गर्दै पेशागत सुरक्षामा ध्यान दिइएको छ । शिक्षा क्षेत्र सुधारलाई साझा मुद्धा बनाएर सबैको सहभागितामा काम गरिरहेका छौँ । शिक्षामा राजनीति गर्नुहुदैन भन्ने कुरामा हामी दृढसंकल्पित छौँ । गत वर्ष आठ वटा विद्यालय भवन निर्माण र पुनःनिर्माण, ११ वटै विद्यालयमा आइसिटी व्यवस्थापन र स्मार्ट कक्षा सञ्चालन समेत गरिएको छ ।

स्वास्थ्यको क्षेत्रमा के के काम गर्नुभएको छ ?

मालिकार्जुनका आम नागरिक हाम्रा सम्पत्ति हुन । मालिकार्जुनबासीलाई स्वस्थ्य राख्न र बिरामीको उपचार गर्न उपचारात्मक र निदान पद्धती दुबैलाई अबलम्बन गरिरहेका छौँ । भएका स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित गर्दै दुर्गम स्थानहरुमा एक वर्षमा चार वटा सामुदायिक स्वास्थ्य इकाई थप स्थापना गरेर जनशक्ति व्यवस्थापन गरिसकेका छौँ । पहिलो वर्ष विशेषज्ञ चिकित्सकसहित चार वटा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ । चालु आर्थिक वर्षमा समेत वडावडामा एकीकृत घुम्ती शिविरका माध्यमबाट स्वास्थ्य सेवा प्रदान गरेका छौँ । पालिकामै आँखा शिविर सञ्चालन गरेर सयौँ मानिसलाई गाउँघरमै सेवा दिनुका साथै गेटा आँखा अस्पतालसंगको सहकार्यमा पालिकामै आँखा उपचार केन्द्र स्थापना गरेका छौँ । जनताको स्वास्थ्यलाई ध्यान दिएर परामर्श र औषधीसहित बेलाबेला घरदैलोमै चिकित्सक सहितको सेवा दिइरहेका छौँ । गाउँमा रोग लुकाएर बसेका मानिसहरु समेत उपचारको पहुँचमा आइरहेका छन् । स्वास्थ्य सबैको प्रतक्ष जीवनसंग जोडिएको विषय भएकोले पनि योग र आयुर्वेद सेवालाई समेत प्राथमिकताका साथ विस्तार गरिरहेका छौँ । प्रतेक विद्यालयमा योग प्रशिक्षकको व्यवस्था गरेर विद्यार्थीहरुलाई ध्यान र प्रणायाम सिकाइरहेका छौँ । मालिकार्जुन गाउँपालिकाले बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै तीन वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । सबै बर्थिङ सेन्टरमा सेवा सुधार, स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापन र औषधीको उपलब्धतामा ध्यान दिएका छौँ । १० सैय्याको अस्पतालको तीन तला ढलान गरेर निर्माणको काम सम्पन्न हुने अवस्थामा रहेको छ ।

सडकको क्षेत्रमा के के कामहरु भइरहेका छन् ?

सिमित स्रोत साधनका बाबजुत हामी आउनुभन्दा पहिलेदेखि थन्किएर रहेको स्काइभेटर मेसिन प्रयोग गरी एक वर्षमा ६ किलोमिटर सडक निर्माणको काम गर्यौँ । गाउँपालिकाको बिच भाग भएर जाने कालोपत्रे महाकाली लोकमार्ग सञ्चालनमा छ । महाकाली किनारको क्षेत्रमा महाकाली करिडोर निर्माणाधिन अवस्थामा रहेको छ । प्रतेक वडा सडक सञ्जालमा जोडिएको छन् । अब वडाहरु जोड्ने सडक स्तरोन्नतीको काम अगाडी बढाउने योजना छ ।

मालिकार्जुनमा सञ्चार र विद्युतको पहुँच कति छ ?

विद्युतको पहुँच अधिकांंस घरधुरीमा पुगिसकेको छ । बाँकी रहेको क्षेत्रमा चाँडै विद्युत विस्तार गर्न पहल गरिहेको छौँ । विगतको तुलनामा धेरै सुधार भएपनि सञ्चारको पहुँचबाट ग्रामिण क्षेत्रका जनता अझै बञ्चित छन् । जनजीवनसंग जोडिएको सञ्चार र विद्युतको क्षेत्रमा छिटो काम गर्न अधिकतम पहल गरिएपनि केन्द्र र प्रदेश सरकारबाट अपेक्षाकृत सहयोग पाउन सकिरहेका छैनौँ ।

मालिकार्जुनका कतिपय गाउँमा खानेपानीको अभाव रहेको गुनासो छ ? खानेपानी समस्या समाधानका लागि किन प्रभावकारी काम हुन सकेन ?

खानेपानीको क्षेत्रमा पनि हामीले निरन्तर काम गरिरहेका छन् । कतिपय विवादित योजना समेत सम्पन्न गरेर गत वर्ष ११ सय घरधुरीलाई लाभ हुने गरी खानेपानी योजना निर्माण भएका छन् । मुहान नभएको ठाउँमा लिफ्ट प्रविधिको प्रयोग गरेर समेत खानेपानी पुर्याइरहेका छौँ । खानेपानी समस्याको दिर्घकालिन समाधानका लागि बाँकी धेरै काम अबको दुई वर्षभित्र गरिसक्ने योजना छ ।

रोजगारीको क्षेत्रमा के के काम भएका छन् ?

रोजगारी र स्वरोजगारी हाम्रो प्राथमिकताको विषय हो । गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम (मेडपा) मार्फत गत वर्ष ७५ जनालाई सीपमुलक तालिम दिनुका साथै थप २५ जना उद्यमीको क्षमता अभिबृद्धि गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसंगै अध्यक्ष स्वरोजगार कार्यक्रम पनि जोडेर विकास निर्माणका कार्यक्रम सञ्चालन गरी छोटो समयको रोजगारी प्रदान गरिएको छ । स्थानीय युवाहरुलाई प्रस्तावित व्यवसायको आधारमा अनुदान दिने कार्यक्रम अध्यक्षसंग स्वरोजगार समेत सञ्चालनमा छ । पशुपालन, माहुरीपालन, फलफुल खेती लगायत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर दीर्घकालिन रोजगारी सिर्जनाका लागि कामहरु भइरहेका छन् ।

आन्तरिक आम्दानी बढाउन के प्रयास भएका छन ?

दुःखको कुरा हामीले बजेट बनाउन केन्द्र सरकारकै भर पर्नुपर्ने अवस्था छ । राजश्वका दायरा बढाउने र स्रोतको खोजि गर्ने काम भइरहेको भएपनि आन्तरिक आम्दानी निकै कम मात्रै छ । उद्यम विकास र प्राकृतिक स्रोत साधनको उपयोगमार्फत समेत आन्तरिक राजश्व बढाउन प्रयास गरिरहेका छन् । मालिकार्जुन गाउँपालिकाको कुल बजेट झण्डै ५५ करोड भएपनि हामीले विनियोजन गरेर खर्च गर्न पाउने १२ करोड हाराहारी मात्रै थियो । त्यसमध्ये ५० लाख आन्तरिक आम्दानी हुने लक्ष्य निर्धारण गरिएको छ ।

मालिकार्जुन गाउँपालिकालाई समृद्ध बनाउने अल्पकालिन र दीर्घकालिन योजना के के ल्याउनु भएको छ ?

विकास र समृद्धिका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, खानेपानी, सञ्चार, विद्युत लगायत सबै क्षेत्रमा काम गरिरहेका छौँ । कृषि र पर्यटन लाई दीर्घकालिन समृद्धिको मुख्य आधारका रुपमा लिएका छौँ । मालिकार्जुनको माथिल्लो लेकाली भेगमा प्रशस्त मात्रामा चरिचरन क्षेत्र भएकोले व्यवसायिक पशुपालनको प्रचुर सम्भावना छ । हामीले व्यवसायिक रुपमा बाख्रा, भैँसी लगायत पशुपालन गर्दै आएका उद्यमीहरुलाई प्रोत्साहन हुने हिसाबले अनुदान उपलब्ध गराएर सहयोग गरिहरेका छौँ । बिचको पहाडी भेग अर्थात मालिकार्जुन, हुनैनाथ, शंकरपुर, डाडाकोट क्षेत्र तरकारी र फलफुल उत्पादनको सम्भावना बोकेको क्षेत्र हो । त्यो क्षेत्रलाई फलफुल र तरकारी पकेट क्षेत्रमा राखेर कृषकहरुलाई बिउँ र अनुदान सहयोग गर्दै आएका छौँ । महाकाली तटिय क्षेत्रको तराइ भेग अर्थात उकु, बाकु, जोजजिबी, डिन्सीलाई धान तथा खाद्यान्न उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरिरहेका छौँ । त्यसकारण कृषि र व्यवसायिक पशुपालन यो गाउँपालिकाको समृद्धिको मुख्य आधार हो । त्यसैगरी आराध्यदेब मालिकार्जुन देबस्थलका संगसंगै हुनैनाथ, जगदम्बे, मानै, ठिङ लगायत मठ–मन्दिरहरु, पुरातात्तविक महत्त बोकेको उकु महल, ऐतिहासिक जोलजिबी संगमस्थल लगायत धार्मिक पर्यटकिय क्षेत्रहरुमा पनि पर्यटकिय पुर्वाधार विकास गर्न सकेमा पर्यटनको माध्यमबाट पनि गाउँपालिकाको समृद्धि हुने हुदा हामीले पर्यटन क्षेत्रलाई पनि महत्तका साथ अगाडी बढाएका छौँ । मन्दिरहरुमा बाटोघाटो, आवास, खानेपानी, शौचालय आदि निर्माण गरिरहेका छौँ । मालिकार्जुन गाउँपालिकाको नामाकरण नै देशकै सात धाममध्येको एक आराध्यदेब मालिकार्जुनको नामबाट गरिएको छ । धार्मिक शक्तिपिठमा ठूला पुर्वाधार विकास गर्न बजेट अभाव छ । केन्द्रबाट आउने बजेट कटौती भएपछि विकासमा बाँधा पुगेको छ ।

गाउँपालिकाको विकासमा के के चुनौती छन ?

चुनौती भएकै ठाउँमा काम गर्न रमाइलो हुन्छ । हाम्रो जीवन चुनौतीहरुकै सामना गर्नका लागि भएकोले चुनौतीलाई अवसरमा बदल्ने प्रयत्न जारी छ । समृद्ध मालिकार्जुन, सुखी मालिकार्जुनबासी नै हाम्रो मुल मर्म हो । सुशासनसहितको विकास एबं समृद्ध मालिकार्जुनको सपना साकार पार्न काम गरिरहेका छौँ । काम गर्ने क्रममा थुप्रै चुनौतीहरु आएपनि चुनौतीलाई अवसरमा परिणत गर्दै काम गर्ने हाम्रो प्रयत्न निरन्तर जारी छ ।

सुशासनको क्षेत्रमा के के काम भएका छन ?

मालिकार्जुन गाउँपालिकामा हामी आइसकेपछि विकास निर्माणलाई जनमैत्री, पारदर्शी, गुणस्तरीय र जनसहभागितामूलक बनाउने प्रयास गरिरहेका छौँ । कुनैपनि जनता विकासको मुलधारबाट बञ्चित हुनुहुदैन भन्ने कुरामा हामी सजक छौँ । त्यसैले जनगुनासो सम्बोधन गर्दै सामुदायिक कामहरुलाई प्राथमिकतामा राखेर काम गरिहेका छौँ । बैंकसम्म पुग्न नसक्नेलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण देखि स्वास्थ्य सेवासहितको एकीकृत घुम्ती शिविर सञ्चालन गरेर समेत जनतालाई गाउँघरमै सहज र सुलभ तरिकाले सेवा दिइरहेका छौँ ।

Vedio & गोरखापत्र दैनिकमा हेर्नुहोस

सायद 1 व्यक्ति  र पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?