दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा वडास्तरीय युवा क्लब गठन भइरहेका छन् । “समृद्ध नेपालका लागि स्वस्थ्य, कर्मठ र उद्यमी युवा“ भन्ने मूल नाराका साथ अपिहिमाल गाउँपालिकामा वडास्तरीय युवा क्लब गठन भइरहेका हुन् । शनिबार वडा नम्बर २ र आइतबार वडा नम्बर १ मा युवा क्लब गठन गरिएको अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक मदनराज जोशीले जानकारी दिनुभयो ।
गाउँपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार राष्ट्रिय युवा परिषद २०७२, राष्ट्रिय युवा नीति २०७२ तथा युथभिजन २०२५ को मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्र निर्माणको आधारस्तम्भको रुपमा रहेका नेपाली युवा वर्गको नेतृत्व तथा क्षमता विकास गरी देशको शासन सञ्चालन प्रणाली र सुशासन सम्बन्धमा युवालाई सुसूचित र सशक्तीकरण गर्दै उनीहरूको सर्वाङ्गीण विकासका लागि युवामैत्री नीति, योजना, कार्यक्रम र प्राथमिकता निर्धारण गर्न युवा क्लबले काम गर्ने उहाँले बताउनुभयो । युवा लक्षित उद्देश्य प्राप्तिका लागि राज्यलाई पृष्ठपोषण दिन तथा सकारात्मक वातावरण निर्माण गर्न, युवाका मुद्दाहरुको बहस पैरवी केन्द्रको रुपमा विकास गर्न, युवालाई सामाजिक दायित्व र कर्तव्य प्रति जिम्मेवार बनाउनका लागि अपिहिमाल गाउँपालिकाका ६ वटै वडाहरुमा स्वयंसेवकीय सञ्जालको रुपमा युवाक्लब गठन तथा युवा संसदको नमूना अभ्यासका माध्यमबाट युवा परिचालन गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
अपिहिमाल गाउँपालिका वडा नम्बर २ मा खडक धामीको अध्यक्षता तथा वडा अध्यक्ष राम धामीको संरक्षकत्वमा १५ सदस्यीय वडास्तरीय युवा क्लब गठन गरिएको छ । यस्तै आइतबार (आज) अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा नरेन्द्र सिंह जागरीको अध्यक्षता तथा वडा अध्यक्ष पोखर सिंह लोथ्यालको संरक्षकत्वमा १५ सदस्यीय वडास्तरीय युवा क्लब गठन भएको छ ।
औपचारिक कार्यक्रमका बिच युवाहरुको भेला बाट समिति गठन भइरहेको बताइएको छ । युवा क्लब गठन कार्यक्रममा अपिहिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशी, सम्बन्धित वडाका जनप्रतिनिधि र कर्मचारीहरुका साथै शिक्षक र १६ देखि २४ वर्षका युवाहरुको सहभागिता रहेको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया