दार्चुला । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषी मा रहेको जनज्योति माध्यमिक विद्यालयको नवौँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर दत्त भट्टको सभापतित्वता र नेपाली कांग्रेसका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखकको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पूर्व न्यायधिवक्ता एवम् प्रा.डा. युवराज संग्रौला, प्रदेश सभा सदस्य प्रकाश रावल, बरिष्ठ अधिवक्ता किसोर आचार्य, दोधाराचाँदनी नगरका प्रमुख किशोर लिम्बु, वेदकोटका नगर प्रमुख भोजराज बोहरा, जनज्योति एजुकेसनल फाउन्डेसनका अध्यक्ष माधव प्रसाद जोशी, जनज्योति बहुमुखी क्याम्पसका प्रमुख प्रकाश दत्त जोशी लगायतको विशिष्ट आतिथ्यता रहेको थियो।
जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले विद्यालय २०७२ सालबाट सञ्चालन भएता पनि छोटो समयमै अभिभावकको मन जित्न सफल रहेको जानकारी दिनुभयो । उक्त विद्यालयमा हाल १०८२ जना विद्यार्थी अध्ययनरत रहेका उहाँले बताउनुभयो । विद्यार्थीहरूलाई विज्ञान प्रविधि र समाज अनुकुल हुने गरेर तथा समाजिक मूल्य र मान्यता सिकाउन तर्फ समेत अग्रसर रहेको उक्त विद्यालयले गत वर्षको एसर्इई परीक्षामा राम्रो नतिजा ल्याउन सफल भएको उहाँले जानकारी दिनुभएको छ । आगामी शैक्षिक वर्षदेखि थप नयाँ प्रविधियुक्त सिकाइमा जोड दिने विद्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेखकले जनज्योति माध्यमिक विद्यालयले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। उहाँले विद्यालयले शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै विद्यालयलाई आफूले सकेको सहयोग गर्न सँधै तत्पर रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
वार्षिकोत्सवमा विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कृत तथा विद्यालयमा लामो सयमदेखि कार्यरत कर्मचारीहरूलाई सम्मान गरिएको छ भने विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको जनज्योति एजुकेसनल फाउन्डेसनका अध्यक्ष माधव प्रसाद जोशीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रा.डा. युवराज सङ्ग्रौलाले जनज्योति माध्यमिक विद्यालयलाई कानुन संकाय सञ्चालन गर्न सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समित अध्यक्ष, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, वडा अध्यक्ष लगायत जनप्रतिनिधि, कर्मचारीको उल्लेख्य रहभागिता रहेको थियो ।
जनज्योति माविले माघ २५ गते जनज्योति एजुकेसनल फेस्ट सम्पन्न गरेको थियो। फेस्टमा ४ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको बताइएको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




