सुदूरपश्चिममा आज ‘ठूली रात’ अर्थात पुसे पन्ध्रु मनाइँदै

दार्चुला । दार्चुला सहित सुदूरपश्चिम प्रदेशमा आज पुसे १५ पर्व मनाइँदै छ। हरेक वर्ष पुस १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिएको छ।

ठूली रातका रूपमासमेत मनाइने पुसे १५ का अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन रहेको छ ।

साथै एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५’ पर्व आज सुदूरपश्चि प्रदेशमा उल्लासपूर्वक मनाइँँदैछ।

डोटेली संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते मनाइने भएकाले पुसे १५ को रुपमा चर्चित रहेको छ। पुस १५ को रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा यो पर्व मनाउने गरिएको छ। आजको लामो रातलाई डोटेली भाषामा ‘ठूली रात’ भनेर चिनिन्छ। यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिएको छ। घरपरिवारमा मीठा खानाका परिकार पकाएर खाने र रातभर जाग्राम बस्ने, डेउडा खेल्ने परम्परा पनि रहेको छ।

यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका मीठा परिकार पकाएर खाने र वृद्धवृद्धाबाट लोक कथा एव दन्त्य कथा सुन्ने सुनाउने प्रचलन छ।

पर्व मनाउन एक ठाउँमा भेला हुनेहरुले १५ हात लामो (झण्डै २० फिट लामो) दाउराको मुढोको आगो ताप्ने र एकआपसमा हाँसोठट्टा गरी रमाइलो गर्दै रात बिताउने प्रचलन रहेको स्थानीय सस्कृतीका जानकारहरु बताउछन ।

पर्वमा विवाहित छोरीहरुलाई माइती घरमा आमन्त्रण गरी भव्य रुपमा स्वागत सत्कार गर्ने गरिन्छ। विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको भएपनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको स्थानीयहरुको बुझाई छ ।

पुस १५ को रात बर्षकै लामो रात हुने यहाँको जनविश्वास अनुसार रात काट्नका लागि दन्ते कथा र गाउँ खाने कथा सुनाएर रात काटने गरिन्छ। दन्ते कथा जान्नेहरु नजिकै गाउँका बासिन्दा जम्मा भएर कथा सुनाउन निकै कर गर्छन्।

दन्ते कथा भन्नेले परम्परागत शैलीमै कथा सुनाउँदै बिचमा गीतका माध्यमबाट कथालाई निकै आकर्षक ढङ्गले प्रस्तुत गर्दछन् । स्रोताले निकै ध्यान दिएर सुन्ने गर्दछन्। कथा भन्ने यति सिपालु हुन्छन्की कथामा यसपछि के हुन्छ भन्ने कौतुहलता पैदा गर्छन्।

कथा भट्याउने व्यक्ति सिपालु छ भने एउटै कथाले रात काटिएको पत्तोनै हुँदैन। राक्षस, भूत, प्रेत, देवता, प्रेम, राजासँग सम्बन्धित दन्ते कथा बढी प्रचलित छन्। जुन कथा बढी प्रचलित छ। त्यही कथा सुनाउनका लागि बढी माग हुने गर्दछ। दन्ते कथासँगै गाउँ खाने कथासमेत भन्ने गरिन्छ।

गाउँ खाने कथाको उत्तर दिन नसक्नेले गाउँ दिनुपर्ने हुन्छ। गाउँ दिएपछि मात्रै उत्तर भन्ने गरिन्छ। गाउँ खाने कथा भन्नेले निकै चलाखीपूर्वक प्रश्न सोध्ने गर्दछन्। पुसे पन्ध्र बनाउने चलन सुदूरपश्चिम प्रदेशमा प्राचीनकाल देखिनै चल्दै आएको हो । हाल पुसे पन्ध्रको मौलिता भने हराउँदै जान थालेको छ।

दन्ते कथा र गाउँ खाने कथा भन्ने चलन हराउँदै जान थालेको छ। कथा जान्ने व्यक्तिको अभाव र युवा पुस्ताले मनोरञ्जनका अन्य साधनप्रतिको आशक्तिले पुरानो चलन विर्षदै जान थालेका हुन्।

रात काट्नैका लागि कुनै गाउँमा डेउडा खेल्ने चलन रहेको छ। यो पर्व हाल औपचारिकतामा मात्रै सीमित भएको छ। आज हतियार नचाउने परम्परा पनि छ। घाँस काट्ने हँसिया, दाउरा चिर्ने बञ्चरो नचलाउने चलन रहेको छ । तिहारमा देउसी भैली खेलेर जम्मा भएका रकम खर्चेर वनभोज खाने यस अवसरमा गरिन्छ । विवाहिता दिदीबहिनीलाई यस अवसरमा घरमा बोलाएर विभिन्न पकवान पकाइ खुवाउने गरिन्छ।

पुस पन्ध्रपछि जाडो सकिँदै जाने जनविश्वासका कारण परम्परागतकाल देखिनै दार्चुला बैतडी, कञ्चनपुरसहित, डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, कैलाली र भारतको कुमाउ गढवाल क्षेत्रमासमेत रातभरि जाग्राम बस्दै आगो तापेर कथा कहानी सुनाएर र गीत गाएर पुसे पन्ध्र मनाउने गरिन्छ । यस बेलादेखि सूर्य उत्तरायण हुने भएकाले दिन लामा र रात छोटा हुने गर्दछन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?