दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरू, टिंकर जोड्ने बाटो बनाउन अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ । व्याँसको वडा नम्बर १ छाङरूबाट वडा नम्बर २ दुम्लिङसम्मको घोडेटो बाटो निर्माणका लागि अर्थ मन्त्रालयले ५ करोड ५० लाख बजेट विनियोजन गरिएको हो ।
दार्चुलाबाट एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले पटकपटक गरेको पहल/अनुरोध तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको निर्देशनमा अर्थ मन्त्रालयबाट व्याँस जोड्ने बाटो बनाउन बजेट निकासा गरिएको हो । बजेट निकासा भएपछि दार्चुलाबासीको तर्फबाट पूर्वमन्त्री ठगुन्नाले प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेललाई धन्यवाद ज्ञापन समेत गर्नुभएको छ । साथै उक्त बजेटले पुरै बाटो बनाउन सम्भव नहुने भएकोले अप्ठेरो स्थानमा उक्त बजेट खर्च गरेर तथा सजिलो ठाउँमा उपभोक्ता, नेता, कार्यकर्ता र देशभक्त नागरिकसहितको श्रम अभियान सञ्चालन गरेर बाटो बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेता ठगुन्नाले नेपालकै बाटो भएर व्याँसको छाङ्गरु जोड्न पैदल बाटो बनाउन देशभक्त नागरिकले श्रमदानमा जुट्न अपिल समेत गर्नुभएको छ । विहिबार प्रेस चौतारी नेपाल दार्चुलाको पाचौं जिल्ला अधिवेशन उद्घाटन गर्दै ठगुन्नाले देशभक्त र राष्ट्रभक्त नागरिकले श्रमदान गरेर पैदलबाटो निर्माणमा लाग्न अपिल गर्नुभएको हो ।
नेपालको आफ्नै भूगोलमा हिड्न बाटो नहुनु यो निकै लज्जाको विषय हो,’ पूर्वमन्त्री ठगुन्नाले भन्नुभयो, ‘आफ्नै घर जान भारतको अनुमति लिनुपर्दा यो भन्दा ठूलो कलङ्क के हुन्छ । यो अभियानमा यो दल त्यो दल होइन्, देशभक्त, राष्ट्रभक्त र माटोप्रति माया भएका सबै नागरिक जोडिनुपर्छ । जनता परिचालन गरेर हिड्ने बाटो चाहि खोल्नुपर्छ । फागुन र चैत महिना श्रमको महिना बनाएर सबैले बाटो खन्न हिड्नुपर्छ, उहाँले भन्नुभयो, म यो अभियानमा केही दिन आफै श्रम गर्छु, ‘यो श्रम आह्वान हो ।’
गणतन्त्रपछि पूर्ण रुपमा बन्द भएको सुनसेरादेखि छाङ्गरुसम्मको पैदलबाटो खोल्न अब सबै जुट्नुपर्छ । स्वयं उपभोक्ता परिचालन गरेर भए पनि पैदल घोरेटोबाटो खोल्नैपर्छ । जनताले काम गर्न सक्ने ठाउँमा जनपरिचालन र अप्ठ्यारो ठाउँमा बजेट खर्च गरेर भए पनि बाटो चाहि बनाउनै पर्ने उहाँको भनाई छ । अहिले छाङ्गरुसम्मको घोरेटो बाटो खन्न अर्थ मन्त्रालयबाट साढे पाँच करोड बजेट स्वीकृत भएको समेत उहाँले उक्त कार्यक्रममा जानकारी गराउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया