दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा मंगलबार (भोलि) शोक विदा दिने निर्णय भएको छ । मालिकार्जुन-६ मा रहेको उकु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी (सिअहेव अधिकृत) दिनेश प्रसाद जोशीको निधनमा मंगलबार शोक विदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र सिंह धामीले बताउनुभयो ।
स्वास्थ्यकर्मी जोशीको चैत २५ गते (आज) जिल्ला अस्पताल दार्चुलाबाट थप उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । गाउँपालिकाले दिवंगत जोशीप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
मालिकार्जुन गाउँपालिकाभित्र अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू मंगलबार बन्द रहने उहाँले बताउनुभयो ।
लेकम गाउँपालिका वडा नम्बर ३ मकन्ना पुख्यौँली घर भएका जोशी हाल कञ्चनपुर बस्दै आउनुभएको थियो । सोमवार (आज) बिहान ११ बजे स्वास्थ्य चौकीमै बेहोस भएर लडेका जोशीलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी लैजाने क्रममा मालिकार्जुनको पस्ती आधारभूत अस्पतालमा निधन भएको वडा नम्बर ६ का वडा अध्यक्ष गोकर्ण सिंह धामीले जानकारी दिनुभयो ।
धनगढी लैजाने क्रममा पस्तीबाट स्वास्थ्य अवस्था झन जटिल बन्दै गएपछि जोशीलाई पस्ती आधारभूत अस्पतालमा लगिएको र डाक्टरले मृत घोषित गरेको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




