दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र विद्यालय कर्मचारीको तलब भत्ता मासिक रुपमै भुक्तानी गर्न सुरु गरेको छ । मालिकार्जुनमा पहिलो पटक गाउँपालिका अन्तर्गतका सबै शिक्षक तथा कर्मचारीहरुको माघ, फागुन र चैत्र महिनाको तलबभत्ता तथा पारिश्रमिक सञ्चित कोष व्यवस्थापन प्रणालीबाट विद्युतीय भुक्तानी (EFT) गर्न थालिएको हो ।

नेपाल सरकार र मालिकार्जुन गाउँपालिकाको नीति तथा कार्यक्रम र शिक्षा मन्त्रालयले मङ्सिर १७ गते स्थानीय तहलाई पठाएको मन्त्रीस्तरीय निर्णयको निर्देशन अनुसार शिक्षकको खातामा मासिक तलब भुक्तानी गर्न थालिएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।

यसअघि त्रैमासिक अर्थात् तीन–तीन महिनामा भुक्तानी हुँदै आएको शिक्षक र कर्मचारीको तलब मासिक रूपमा भुक्तानी गर्न सुरु गरिएको गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो । माघ, फागुन र चैत महिनाको शिक्षकको तबल भत्ता भर्खरैदेखि सम्बन्धित शिक्षकलाई भुक्तानी गर्न थालिएको उहाँले बताउनुभयो । उहाँकाअनुसार अबदेखि निजामती र अन्य कर्मचारीलाई जस्तै गरी शिक्षकलाई पनि उहाँहरूले पाउने तलब भत्ता मासिक रूपमा भुक्तानी (उपलब्ध) गराइने छ ।

आठ वटा वडा रहेको मालिकार्जुन गाउँपालिकामा ३८ सामुदायिक विद्यालयका ३३२ (सबै) शिक्षक र कर्मचारीले मासिक रूपमा तलब पाउन थालेको गाउँपालिकाका शिक्षा अधिकृत लोकेन्द्र सिंह धामीले बताउनुभयो । गाउँपालिकाले सूत्रबाट विद्युतीय प्रणाली (ईएफटी) मार्फत एक क्लिकमा शिक्षकको तलब भत्ताका साथै नागरिक लगानी कोष र सञ्चय कोष समेत सम्बन्धित खातामा जाने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको तलबभत्ता अबदेखि निकासा प्राप्त हुनासाथ मासिक रुपमा भुक्तानी गरिने हुँदा शिक्षक तथा कर्मचारीहरुको हाजिरी विवरण मासिक पठाउने व्यवस्था मिलाउन सबै विद्यालयलाई गाउँपालिकाले अनुरोध गरेको छ । मन्त्रालयले देशभरका सबै पालिकालाई शिक्षकको मासिक तलब भुक्तानी गर्न निर्देशन दिएको भएपनि धेरै कम पालिकाले मात्रै मासिक भुक्तानी सुरू गरेका छन् ।

शिक्षक र विद्यालय कर्मचारीको तलबभत्ता मासिक भुक्तानी सुरू गरेको विषयमा गाउँपालिकाले सार्वजनिक सूचना समेत प्रकाशन गरेको छ । सूचनामा भनिएको छ, “शैक्षिक क्षेत्रको उन्नयन तथा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न शिक्षकलाई प्रोत्साहन गरी मासिक रुपमा शिक्षकलाई तलबभत्ता सुनिश्चित हुने कानुनी प्रावधान तथा गाउँपालिकाको आर्थिक वर्ष २०८१।०८२ को वार्षिक नीति तथा कार्यक्रमको मर्म समेतलाई हृदयाङ्गम गर्दै यस गाउँपालिकाले तेस्रो त्रैमासिकबाट पहिलो पटक गाउँपालिका अन्तर्गतका सबै शिक्षक तथा कर्मचारीहरुको माघ, फागुन तथा चैत्र महिनाको तलबभत्ता तथा पारिश्रमिक सञ्चित कोष व्यवस्थापन प्रणाली (Sub-National Treasury Regulatory Application SuTRA) बाट विद्युतीय भुक्तानी (EFT) मार्फत सम्बन्धित शिक्षक तथा कर्मचारीहरुको खातामा नै भुक्तानी गरेको बेहोरा अवगत गराउँदै आधारभूत तथा माध्यमिक तहका स्थायी शिक्षकहरुको कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष समेत EPF र NLK को व्यक्तिगत खातामै जम्मा गरिएको बेहोरा जानकारीको लागि अनुरोध छ ।  त्यस्तै शिक्षक तथा कर्मचारीको सामाजिक सुरक्षा कर तथा पारिश्रमिक कर पनि पालिकाबाटै कट्टी गरी दाखिला गरिने बेहोरा समेत जानकारीको लागि अनुरोध छ । पुनश्च सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको तलबभत्ता अबदेखि निकासा प्राप्त हुनासाथ मासिक रुपमा भुक्तानी गरिने हुँदा शिक्षक तथा कर्मचारीहरुको हाजिरी विवरण मासिक पठाउने व्यवस्था मिलाउन हुन समेत अनुरोध छ ।”

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?