दार्चुला । चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख वर्ष पुरानो खोपडीको डिजिटल पुनर्निर्माणले मानव विकासबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ । अध्ययनअनुसार, आधुनिक मानवका पुर्खाहरू पहिले अनुमान गरिएभन्दा झन्डै चार लाख वर्ष अगाडि नै फरक समूहहरूमा विभाजित भइसकेका थिए ।
यो प्रक्रिया अफ्रिकाभन्दा एसियामा शुरू हुन सक्ने सङ्केत देखिएको छ । युन्जियन–२ नाम दिइएको खोपडी सुरुमा होमो इरेक्टसको अवशेष मानिएको थियो । तर अत्याधुनिक सीटी स्क्यानिङ, स्ट्रक्चर लाइट इमेजिङ र भर्चुअल पुनर्निर्माण प्रविधिबाट गरिएको अध्ययनले यसमा होमो लोङ्गी र होमो सेपियन्ससँग मिल्ने विशेषताहरू देखाएको छ । यसले मानव विकासमा धेरै पहिले नै जटिलता सुरु भएको हुनसक्ने तर्कलाई बल दिएको छ ।
लन्डन नेचुरल हिस्ट्री म्युजियमका मानवशास्त्री तथा अनुसन्धान टोलीका सदस्य क्रिस स्ट्रिङ्गरका अनुसार झण्डै १० लाख वर्षअघि नै हाम्रा पुर्खाहरू विभिन्न समूहमा विभाजित भइसकेका थिए । जुन पहिलेको अनुमानभन्दा धेरै पहिले भएको कुरा हो । यस्तै परम्परागत रूपमा प्रारम्भिक मानवहरूको उत्पत्ति र विस्तार अफ्रिकाबाट भएको मानिँदै आएको छ । तर यो नयाँ निष्कर्षले प्रश्न उठाएको छ ।
ग्रिफिथ विश्वविद्यालयका माइकल पेट्राग्लियाका अनुसार पूर्वी एसिया मानव विकासको केन्द्र रहेको देखिन थालेको छ । साइन्स जर्नलमा प्रकाशित यो अनुसन्धानले खोपडीलाई एक सयभन्दा बढी अरु नमूनासँग तुलना गरेको थियो ।




