मेरुदण्डको उपचारमा सम्पत्ति सकेका हरीशलाई श्रीमती हराएपछि नाबालक छोराको पालनपोषणको चिन्ता

दार्चुला । दुई वर्षअघि दुर्घटनामा परी मेरुदण्डमा गम्भीर चोट लागेपछि लामो समयदेखि उपचार गराइरहेका बैतडीको दशरथचन्द नगरपालिका–९ का ३३ वर्षीय हरीश भुललाई अहिले उपचारसँगै दुई नाबालक छोराको पालनपोषण कसरी गर्ने भन्ने चिन्ताले सताएको छ।

छतबाट खसेर मेरुदण्ड भाँचिएपछि नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदा आफ्नो भएभरको सम्पत्ति सकिएको हरीशले बताउनुभयो। कञ्चनपुरमा पानीको ट्यांकी सफा गर्ने क्रममा विद्युत्को करेन्ट लागेर छतबाट खसेपछि उहाँको मेरुदण्डमा गम्भीर चोट लागेको थियो। अण्डाशयमा समेत चोट लागेपछि भारतको खटिमा, बरेली र देहरादुनलगायतका अस्पतालमा उपचार गराइएको उहाँले बताउनुभयो।

उपचारका क्रममा दुई पटक शल्यक्रिया गरिएको छ। पछिल्लो समय जिल्ला अस्पताल बैतडी र सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराउँदै आउनुभएका हरीशको अवस्था अझै सामान्य भइसकेको छैन। शल्यक्रियाको घाउ दुखिरहने र बेडमै दिसापिसाब गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।

उपचारकै क्रममा कञ्चनपुरमा रहेको आफ्नो जग्गा १४ लाख रुपैयाँमा बिक्री गरेको उहाँको भनाइ छ। बचत रकम र विभिन्न व्यक्तिबाट प्राप्त सहयोगसमेत उपचारमै खर्च भएपछि अहिले दैनिक गुजारा चलाउनसमेत समस्या भएको उहाँले बताउनुभयो।

हरीशका ११ वर्षीय अभिशेक र ७ वर्षीय अमन गरी दुई छोरा छन्। श्रीमतीसमेत केही दिनदेखि सम्पर्कविहीन भएपछि छोराहरूको हेरचाह र पालनपोषणमा थप समस्या भएको उहाँले बताउनुभयो। जेठो छोरा अभिशेक अहिले शाहीलेकस्थित वीरेन्द्र माध्यमिक विद्यालयको छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् भने कान्छा छोरा अमन उहाँसँगै छन्।

हरीशकी आमा कलावतीसमेत अशक्त हुनुहुन्छ। छोराको उपचारका लागि रकम अभाव भएपछि अहिले छरछिमेकको सहयोगमा दैनिक दुई छाक टार्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो।

श्रीमतीको खोजीका लागि प्रहरीमा पुग्दा दुर्व्यवहारको गुनासो

श्रीमती विमला गत सातादेखि सम्पर्कमा नआएपछि हरीश खोजी गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय बैतडी पुग्नुभएको थियो। शारीरिक रूपमा हिँडडुल गर्नसमेत कठिनाइ रहेका उहाँ घुम्ने कुर्सीको सहारामा प्रहरी कार्यालय पुग्नुभएको थियो।

प्रहरी कार्यालयअगाडि पानीमा भिजिरहेको अवस्थाको फोटो तथा भिडियो ह्वाट्सएपमार्फत स्थानीय सञ्चारकर्मीलाई पठाएपछि आफूलाई प्रहरीले दुर्व्यवहार गरेको हरीशको गुनासो छ। सादा पोसाकमा आएका प्रहरीले मोबाइल खोसेर फोटो तथा भिडियोसमेत हटाइदिएको उहाँले आरोप लगाउनुभयो।

हरीशका आफन्त गोपाल भुलले समेत निवेदन लिएर प्रहरी कार्यालय पुग्दा आफूहरूलाई धम्क्याइएको र लामो समयसम्म वास्ता नगरिएको गुनासो गर्नुभयो। उहाँका अनुसार दिउँसो करिब २ बजे प्रहरी कार्यालय पुगेका उनीहरू राति ११ बजेसम्म त्यहीँ बसेका थिए। घर फर्कने सवारी नपाएपछि दुई नाबालकसहित जिल्ला अस्पतालको बरन्डामा रात बिताउनुपरेको उहाँले बताउनुभयो।

यता, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले भने सम्पर्कविहीन भनिएकी विमला भारतको पिथौरागढमा उपचारका लागि गएको र आमाको सम्पर्कमा रहेको सूचना प्राप्त भएको बताउनुभयो। प्रहरीबाट दुर्व्यवहार भएको तथा मोबाइल खोसेर सामग्री हटाइएको विषयमा आफूलाई जानकारी नभएको भन्दै उहाँले घटनाबारे थप बुझ्ने काम भइरहेको जानकारी दिनुभयो।

लामो समयदेखि उपचारमा रहेका हरीश अहिले आर्थिक अभाव, शारीरिक पीडा र पारिवारिक समस्यासँग एकैपटक जुधिरहनुभएको छ। उहाँले आफ्नो उपचारसँगै दुई नाबालक छोराको पालनपोषणमा समेत सहयोग आवश्यक रहेको बताउनुभएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?