अपिहिमाल पर्यटन उत्सव सुरु, मुख्यमन्त्री भट्टले गरे उद्घाटन

दार्चुला । दार्चुलाको अपिहिमाल वेश क्याम्पमा आजबाट तीन दिने अपिहिमाल पर्यटन उत्सव सुरु भएको छ । दार्चुलाको अपिहिमाल क्षेत्रलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित अपिहिमाल पर्यटन उत्सव–२०८३ सुरु भएको छ । अपिहिमाल गाउँपालिका–१ स्थित अपिहिमाल आधार शिविरमा मंगलबार उत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गर्नुभयो ।

उत्सवमा सहभागी हुन मुख्यमन्त्री भट्टसँगै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावल र सभामुख भीमबहादुर भण्डारी हेलिकप्टरमार्फत अपिहिमाल पुग्नुभएको थियो ।

अपिहिमाल गाउँपालिकाको आयोजनामा सञ्चालन भइरहेको उत्सव कात्तिक १९ गतेसम्म चल्नेछ । चालु आर्थिक वर्षमा कम्तीमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित उत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

अपिहिमाल क्षेत्रको प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताउनुभयो ।

गाउँपालिकाले उत्सवलाई परम्परागत औपचारिकतामा सीमित महोत्सवभन्दा फरक प्रकृतिको कार्यक्रमका रूपमा अघि सारेको छ । उत्सवमार्फत अपिहिमाललाई सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पर्यटनबाट स्थानीय आयआर्जन तथा दिगो रोजगारी सिर्जना गर्ने र स्थानीय मौलिक कला, भाषा, संस्कृति तथा साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै, स्थानीय कृषि उपज, हस्तकला तथा मौलिक उत्पादनको बजारीकरण र व्यावसायीकरणमा सहयोग पु¥याउने तथा जलवायु परिवर्तनले हिमाली वातावरण, पर्यटन र स्थानीय जीविकोपार्जनमा पारेको प्रभावबारे सचेतना बढाउने उद्देश्य पनि उत्सवले लिएको छ ।

उत्सवको पहिलो दिन आज उद्घाटन समारोहसँगै स्थानीय सांस्कृतिक झाँकी प्रदर्शन, साहित्यिक कार्यक्रम तथा राष्ट्रिय र स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति राखिएका छन् । दोस्रो दिन भोलि मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ । तेस्रो दिन कात्तिक १९ गते जलवायु संवाद, योग तथा ध्यान शिविर र औपचारिक समापन कार्यक्रम आयोजना गरिने गाउँपालिकाले जनाएको छ ।

जलवायु परिवर्तनले हिमाली क्षेत्रको पर्यटन र स्थानीय जनजीवनमा पारेको प्रभावबारे छलफल गर्दै अनुकूलनका उपायप्रति सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले जलवायु संवाद आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?