तिहारमा जुवातास, कालोबजारी, आतसबाजी जस्ता गतिविधि नगर्न प्रशासनको चेतावनी, देउसी–भैलो राति १० बजेसम्म

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ। प्रशासनले देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको हो।

प्रमुख जिल्ला अधिकारी बर्तराज पौडेलले शुक्रबार एक सूचना जारी गर्दै चाडपर्वका अवसरमा सामाजिक सद्भाव कायम राख्दै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण हुने गरी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको छ।

प्रशासनले देउसी–भैलो खेल्न निजी आवास, व्यापारिक प्रतिष्ठान तथा कार्यालयमा जाँदा घरधनी, सञ्चालक वा जिम्मेवार पदाधिकारीको अनुमति लिएर मात्र प्रवेश गर्न र जबरजस्ती रकम माग्ने वा दबाब दिने कार्य नगर्न भनेको छ। साथै, अभिभावकलाई देउसी–भैलोमा सहभागी हुने बालबालिकाको निगरानी गर्न र उनीहरूलाई जोखिमपूर्ण गतिविधिमा संलग्न नगराउन अनुरोध गरिएको छ।

सूचनामा भुइँचम्पा, पटका तथा आतसबाजीजस्ता विस्फोटक पदार्थ र प्रतिबन्धित सामग्रीको आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न भनिएको छ। चाडपर्वका बेला जुवातास, सट्टेबाजी, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ।

त्यस्तै, अखाद्य तथा गुणस्तरहीन मिठाई र अन्य अस्वास्थ्यकर खाद्यवस्तु बिक्री वितरण नगर्न, बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी नगर्न तथा उपभोक्ता हितविपरीतका गतिविधि रोक्न आग्रह गरिएको छ।

चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सार्वजनिक सवारीसाधनले तोकिएको भन्दा बढी भाडा नलिन र क्षमताभन्दा बढी यात्रु नराख्न प्रशासनले निर्देशन दिएको छ। यात्रुहरूलाई पनि यस विषयमा सचेत रहेर यात्रा गर्न अनुरोध गरिएको छ।

स्थानीय स्तरमा सञ्चालन हुने दिवाकालीन तथा रात्रिकालीन जात्रा र मेलाको मिति तथा समयबारे आयोजक वा आम नागरिकले प्रशासन र नजिकको सुरक्षा निकायलाई जानकारी गराई आवश्यक सुरक्षा व्यवस्थापनका लागि अनुरोध गर्नुपर्ने सूचनामा उल्लेख छ। जात्रा तथा मेला शान्तिपूर्ण, सभ्य र मर्यादित रूपमा सञ्चालन गर्न पनि आग्रह गरिएको छ।

सूचनामा उल्लेखित विषय कार्यान्वयनका लागि जिल्लाभित्रका सबै स्थानीय तहलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न अनुरोध गरिएको छ। सूचनाविपरीतका गतिविधि गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी गराउनुभएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?