महाकाली करिडोर : ४० वर्षमा १४० किलोमिटर ट्रयाक खुल्यो

राष्ट्रिय पञ्चायतमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ‘महाकाली किनारैकिनार राजमार्ग बन्छ, यो बनाउनै पर्छ’ भनेका बेला बैतडीको शर्मालीका हरिकृष्ण कलौनी तन्नेरी थिए । खबर सुन्दा उहाँलाई सुदूरपश्चिमको सडक पूर्वाधार विकासमा सरकारले छिटै कायापलट हुने काम गर्ला भन्ने लागेको थियो । उहाँले त्यो खबर सुनेको लामो समयपछि महाकाली करिडोर निर्माण त सुरु भयो तर काम अति नै सुस्त छ ।

४ सय २५ किलोमिटर लम्बाइको करिडोरको बल्ल १ सय ४० किमि ट्र्याक खुलेको छ । ६३ वर्षीय कलौनी भन्छन्, ‘रेडियोबाट त्यो समाचार सुनेको करिब ४० वर्ष भयो । बल्ल काम थाले भन्ने सुन्दै छु ।’ कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुराको जोगबुढा, शीर्ष, रुपाल, बैतडीको तल्लोस्वराड क्षेत्र छिचोल्दै झुलाघाट भएर दार्चुलाको टिंकरसम्म निर्माण हुने महाकाली करिडोर कलौनीको उमेरका यहाँका बासिन्दाका लागि अहिले पनि सपनाजस्तै छ ।

ब्रह्मदेवदेखि दार्चुला टिंकरसम्मका लागि करिडोर निर्माण सुरु भएको पनि १३ वर्ष भइसकेको छ । सुरुमा दार्चुला सदरमुकामदेखि टिंकरसम्म सडक निर्माण सुरु भएको थियो । आर्थिक वर्ष २०६५/६६ देखि सरकारले महाकाली करिडोरको अवधारणाअनुरूप काम अगाडि बढाएको हो । कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलाका विकट क्षेत्रलाई जोड्दै चीनको सीमानाकासम्म पुग्ने यो सडकको निर्माणले सुदूरपश्चिमका पहाडी जिल्लाको आधाभन्दा बढी भूभाग सिधै तराईसँग जोडिने भए पनि निर्माण कार्य भने कछुवा गतिमा छ ।

‘पञ्चायतकालमै महाकाली करिडोरको कुरा उठेको हो,’ राष्ट्रिय योजना आयोगका पूर्वसचिव गोविन्द भट्ट भन्छन्, ‘सुदूरपश्चिममा विकासका यस्ता सपना धेरै पटक कागजमा कोरिए, व्यवहारमा कार्यान्वयन हुन सकेनन् ।’ उहाँको बुझाइमा महाकाली करिडोर पनि यस्तो एउटा सपना हो, जसले पूरै सुदूरको आर्थिक विकासमा ठूलो परिवर्तन हुन सक्थ्यो ।

उहाँका अनुसार दार्चुला सदरमुकाम खलंगादेखि टिंकरसम्म सडकको रूपरेखा तत्कालीन मन्त्री बहादुरसिंह ऐतवालले कोर्नुभएको हो । खलंगा–टिंकर १४० किलोमिटरमध्ये जम्मा ४५ किलोमिटर ट्र्याक खुल्न ११ वर्ष लागेको छ । १० वर्षमा टिंकर भन्ज्याङ छिचोल्ने लक्ष्यअनुरूप निर्माण सुरु गरिएको उक्त सडकले ७/८ वर्षसम्म राताकाठा भीर नै काट्न सकेन । स्थानीय प्रशासनको बारम्बार ताकेतापछि २०७४ सालमा राताकाठा भीरको ट्र्याक खोलिएको हो ।

अहिले व्यास गाउँपालिकाको केन्द्र सुन्सेरासम्म सडकको ट्र्याक खोलिएको छ । सुन्सेराअघि भने अझै पनि ट्र्याक खोल्ने काम अघि बढेको छैन । महाकाली करिडोरको काममा खलंगाभन्दा तल्लो खण्डमा प्रगति देखिएको छ । खलंगादेखि टिंकर जोड्ने करिडोरको सडक खण्डमा निर्माण कार्य कछुवा गतिमा चलिरहेको स्थानीय जनप्रतिनिधिले गुनासो गरेका छन् । जिल्लाको विकास र समृद्धिको ढोका खोल्न टिंकरसम्म सडक विस्तार गरेर नाका सञ्चालन गर्नु आवश्यक रहेको छ।

महाकाली नदी किनारैकिनार सडक निर्माण गरी महाकाली अञ्चलका चार वटै जिल्ला जोड्ने उद्देश्यले करिडोरको निर्माण कार्य थालिएको हो । महाकाली नदीभन्दा निकै टाढा पर्ने गरी सडक घुमाएर निर्माण कार्य भइरहेकाले अझै धेरै वर्ष कुर्नुपर्ने देखिन्छ ।

दुई दर्जन बढी पुल बन्ने भनिएको छ, त्यो काम नै सुरु भएको छैन । आयोजनाको लागत अनुमान १८ अर्ब रुपैयाँ हो । हालसम्म डेढ अर्ब खर्च भएको महाकाली करिडोर आयोजनाले जनाएको छ । कामले गति लिइसकेको दाबी आयोजना प्रमुख अच्युतविलास पन्तको छ । ‘काम भइरहेकै छ । छिटो काम अघि बढाउन खोज्दा झन्झट थुप्रै छन्,’ उहाँले भन्नुभयो। वातावरणीय प्रभाव मूल्यांकन, सडक मार्गमा पर्ने वन कटानी र विस्फोटक पदार्थको प्रयोगका लागि पुर्‍याउनुपर्ने कानुनी प्रक्रियाका कारण आयोजनामा ढिलाइ भइरहेको उहाँको भनाई छ ।

खलंगादेखि तल्लो खण्डमा चालु वर्ष ठेक्का सुरु हुने भएको छ । दार्चुलामा ३४ किमि, बैतडीमा ५८, डडेलधुरामा १४ र कञ्चनपुरमा ११ किलोमिटर गरी १ सय १७ किलोमिटर ट्र्याक खोल्न ठेक्काको व्यवस्थापन उहाँले बताउनुभयो ।

‘करिडोरमा पर्ने रुख कटानमा प्रक्रियाले ढिला भयो । प्रदेश वन मन्त्रालयमा फाइल पुगेको छ, सहमति पाएपछि मात्रै १ सय १७ किलोमिटरको ठेक्का प्रक्रिया सुरु हुन्छ,’ उहाँले भन्नुभयो, यसका लागि चालु वर्षमा संघीय सरकारले २५ करोड बजेट छुट्याएको छ ।

करिडोरमा खलंगादेखि तल बैतडी, डडेलधुरा र कञ्चनपुरमा २ सय ९१ किलोमिटर पर्छ । गत वर्ष सरकारले हिमाली भेगको ८७ किमि सडक निर्माणको जिम्मा सेनालाई दिएको थियो । सेनाले पनि अहिलेसम्म काम सुरु गरेको छैन । एकातिर ट्र्याक खोल्न विभिन्न स्थानमा चट्टान फोर्न आयोजनाले आफूखुसी विस्फोटक पदार्थ प्रयोग गर्न पाउँदैन, अर्कातिर रूख कटानमा स्वीकृति दिन ढिला गरेर काम अघि बढाउन अप्ठ्यारो पारिएको आयोजनाकै पदाधिकारीको दाबी छ ।

यो करिडोर पूरा भए सुदूरपश्चिमका चार पहाडी जिल्लाका दुर्गम क्षेत्रलाई जोड्ने मात्रै होइन, त्रिदेशीय सीमासम्म आवागमन सहज हुने र सुदूरपश्चिमको आर्थिक, धार्मिक, पर्यटकिय लगायत विकास र समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?