दार्चुला । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका (विप्लपका) दुई जना कार्यकर्ता धरौटी रकम तिर्न नसक्दा कारागार चलान भएका छन् । भने दुई जना धरौटी तिरेर रिहा भएका छन् ।
शैल्यशिखर नगरपालिका ९ का वडाअध्यक्ष रामधनी विष्टले चढ्ने १३३२ नम्बरको पल्सर मोटरसाईकलमा आगजनी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो ।
गत साउन ८ गते पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता चक्र विक र प्रताप ओड जनही ७५।७५ हजार रुपैँया धरौटी रकम तिरेर सोमबार रिहा भएपिन उनीहरुसँगै पक्राउ परेका धनीराम लावड र विष्णुराज लेखकलाई धरौटी रकम तिर्न नसक्दा कारागार चलान गरिएको प्रहरीले जनाएकाे छ ।
लावड र लेखकबाट जिल्ला अदालत दार्चुलाले जनहि एक लाख ५० हजार रुपैँया धरौटी माग गरेको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनीहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरुबाट कम्ब्याड ड्रेस, चन्दा असुलीका रसिद, पुस्तक तथा विप्लवको कार्यक्रममा सहभागि भएका विभिन्न दस्तावेजहरु फेला पारेपछि राज्यविरुद्धको कसुर सम्बन्धी मुद्धा दायर गरेकाे थियाे ।