रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ चौपाता, चन्नौलामा मालिकार्जुन सामुदायिक संस्थाद्धारा सञ्चालित रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सब तथा साधारणसभा कार्यक्रम सम्पन्न भएको हो । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला त्यसमापनि सञ्चारको पहुचबाट टाढा रहेको लेकम क्षेत्रका साथै दार्चुला र बैतडी जिल्लालाई केन्द्रबिन्दु बनाउँदै आधुनिक सञ्चार र विज्ञान प्रविधिको युगमा सूचना तथा सञ्चार क्षेत्रको पहुँच बिस्तार गरी शिक्षा, मनोसूचनात्मक खोजमुलक समाचार र मनोरञ्जनका लागि २०७५ सालमा स्थापना भएको मालिकार्जुन सामुदायिक संस्थामार्फत २०७६ सालबाट सञ्चालन गरिएको रेडियो लोकदर्पण ९४.६ मेगाहर्जको छैटौँ वार्षिकोत्सब एक कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

मालिकार्जुन सामुदायिक संस्थाका अध्यक्ष तथा रेडियो लोकदर्पणका स्टेशन म्यानेजर लोकेन्द्र प्रसाद जोशीको अध्यक्षता तथा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको वार्षिकोत्सबमा लटिनाथ मावि चौपाताका प्रधानाद्यापक केशवराज बिष्ट, लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी, लेकम गाउँपालिकाका पूर्वअध्यक्ष परमानन्द जोशी, लेकम गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा राजनीतिक दलका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाद्यापक र शिक्षक, समाजसेवी, लोकदर्पणप्रेमी स्थानीय र शुभचिन्तकहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुने अतिथि, विशिष्ट अतिथिहरु र प्रमुख अतिथिले संस्था र रेडियोको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । वक्ताहरुले सञ्चारको क्षेत्रमा रेडियोले पुर्याएको योगदानको प्रशंसा गर्दै अगामी दिनमा थप गुणस्तरीय र सन्तुलित सामाग्री प्रसारण गर्न सुझाब दिएका छन् ।

२०७६ कात्तिक १२ गतेदेखि परीक्षण प्रसारण सुरु गरिएको रेडियो लोकदर्पणको नियमित प्रसारण २०७६ फागुन १ गतेदेखि सुरु भएको थियो । नियमित प्रसारण गरेको र विश्व रेडियो दिवसको अवसरमा वार्षिकोत्सब मनाइएको रेडियो लोकदर्पणका स्टेशन म्यानेजर लोकेन्द्र जोशीले जानकारी दिनुभयो । सामाजिक रुपान्तरण, नागरिक अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्दै विग मिडिया हाउस स्थापना सहित ग्रामिण भेगसम्म सूचना, समाचार, सचेतना र सञ्चारको पहुच पुर्याउनको लागि सञ्चारको क्षेत्रमा क्रियाशील दार्चुलाका पत्रकारहरु र सामाजिक परिवर्तनको क्षेत्रमा कार्यरत व्यक्तिहरुको सामुहिक पहलबाट सञ्चार, सूशासन, सामाजिक रुपान्तरण र आर्थिक विकासका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालनको उद्धेश्यले समाजको ऐना बनेर लोकदर्पण मिडिया सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

रेडियोका स्टेशन म्यानेजर जोशीले रेडियो तथा संस्थाको आर्थिक दायित्त बढ्दै जादा वित्तिय संकट सिर्जना भएको, कर्मचारीको पारिश्रमिक नियमित भुक्तानी गर्न समस्या रहेको, सामाजिक सञ्जालका प्लेटफर्मका साथै मल्टिमिडियामा जानुपर्ने समयमा इन्टरनेट लगायत विभिन्न प्राविधिक र यातायात लगायत भगौलिक समस्याको कारण लक्ष्य अनुसार काम गर्न नसकिएको, चट्याङ लगायत प्राकृतिक विपद्बाट समेत बेलाबेला ठूलो क्षति व्यहोर्नुपरेको र सीमित स्रोत र साधन, दक्ष जनशक्तिको अभाव लगायत कारण लक्ष्य अनुसार काम गर्न चुनौती रहेको जानकारी गराउनुभयो ।

स्टेशन म्यानेजर जोशीका अनुसार संस्था र रेडियोको गत आर्थिक वर्षको कुल आम्दानी २२ लाख ४३ हजार ६१४ रुपियाँ रहेको र व्ययभार ५४ लाख ३१ हजार ७१५ रुपियाँ रहेकोले पुरानो दायित्त र नियमित आम्दानी भन्दा खर्च बढी हुँदा रेडियो सञ्चालनमा समस्या रहेको जानकारी गराउनुभयो । सबै स्थानीय तह, प्रदेश र केन्द्र सरकार, कार्यालय, संघ, संस्था, विद्यालय र व्यक्तिहरुलाई सहयोग र सहकार्यका लागि उहाँले अनुरोध समेत गर्नुभएको छ ।

संस्थाको छैटौँ साधारणसभाबाट लोकेन्द्र प्रसाद जोशीकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा दुर्गादत्त जोशी, सचिवमा केशवदत्त जोशी, कोषाध्यक्षमा जानकारी देवी जोशी र सदस्यहरुमा अनिता जोशी, कमला रैखोला, रमेश प्रसाद जोशी, दिपक दमाई र केशवदत्त जोशी चयन भएका छन् । लोकदर्पण मिडियामार्फत सञ्चालित सञ्चारमाध्यमलाई थप क्रियाशील बनाउने प्रतिवद्धताका साथ कार्यक्रम सम्पन्न भएको छ ।

रेडियो लोकदर्पण र मालिकार्जुन सामुदायिक संस्थाको बारेमा थप जानकारीसहितको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?