दार्चुला । दार्चुलाको टिंकरस्थित छायालेक प्रहरी चौकीमा कार्यरत १३ जना प्रहरी भत्किएर गाह्रो झर्ने र चुहिने छानोभित्र बसेर सीमाको सुरक्षा गर्न बाध्य छन् ।
३ हजार ४ सय मिटर उचाईमा पर्ने चिनको सीमा नजिकै रहेको छायालेक प्रहरी चौकीमा भत्किएको गाह्रो र चुहिने छानोमुनी बसेर सीमाको सुरक्षा गरिरहेका छन् । दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालले छायालेक चौकीको भवन निर्माणका लागि कहीँबाट बजेट नआएको बताउनुभएको छ ।
“सुदूरपश्चिम प्रदेश सरकारले मर्मतसम्भारमा थोरै बजेट दिने भन्ने अनौपचारिक रूपमा सुनिएको छ, त्यसबाहेक अन्य ठाउँबाट भवन निर्माणका लागि बजेट आउन सकेन” उहाले भन्नुभयो। टिंकरमा अहिले असइ मानबहादुर रोकाया नेतृत्वमा १३ प्रहरी कार्यरत छन् । चिसो मौसममा आगो तापेर रात गुजार्नुपर्ने भए पनि दाउरासमेत अभाव रहेको प्रहरीहरूको गुनासो छ ।
त्यस्तै देशभर नेपाल प्रहरीका दुई हजार ६६० कार्यालय छन् । जसमध्ये एक हजार ८६९ को मात्र आफ्नो भवन छ । ३७० कार्यालय भाडाका घरमा सञ्चालित छन् । ४२१ कार्यालय अन्य निकायको भवनमा आश्रय लिएर चलेका छन् । आफ्नै भवन भएर पनि ८०२ कार्यालयमा शौचालयसमेत नभएको प्रहरीकै तथ्यांक छ ।
त्यस्तै, ८४३ कार्यालयको ब्यारेक र ८३३ कार्यालयमा मेस पनि छैन, भौतिक पूर्वाधारका अभावमा प्रहरीलाई काम गर्न कठिन भएको भन्दै प्रहरी प्रधान कार्यालयले बजेटका लागि पटक–पटक गृह मन्त्रालयलाई पत्राचार गर्दै आएको छ ।
तर, गृहले चासो दिएको छैन, प्रहरीले गुणस्तरीय पोसाकसमेत लगाउन पाएका छैनन् हेडक्र्वाटरले दिने पोसाक केही महिनामै फाट्ने भएकाले प्रहरीहरू आफ्नै तलबबाट पोसाक खरिद गरेर लगाउनुपर्ने बाध्यतामा छन् ।





प्रतिक्रिया