दार्चुला । नयाँ वर्षको आगमनसंगै दार्चुलासहित सुदूरपहाडमा बिसु पर्वको रौनकता छाएको छ । बिसु पर्वमा पढाइ र रोजगारीको सिलसिलामा गाउँ बाहिर गएकाहरु र कामको लागि भारतका विभिन्न शहर गएकाहरु घर फर्किने भएकोले गाउँघरमा चहलपहल बढेको छ ।

सुदूरपहाडमा बिसु पर्वलाई भव्य रुपमा मनाउने चलन धेरै पहिले देखि चलिआएको छ । पुरानो वर्षलाई बिदाइ तथा नयाँ वर्षको स्वागत गर्ने पर्व पनि भएकोले दशैं तिहारपछि हिउँदमा खाली भएका गाउँ बस्तीमा यती बेला चहलपहल बढेको छ । दार्चुलाको मार्मा क्षेत्रमा बिसु पर्वलाई विशेष रुपमा मनाइन्छ । बिसुको अवसरमा तीन देखि पाँच दिनसम्म गाउँ गाउँमा देउडा लगायत विभिन्न खेल खेल्ने, धामी चल्ने, छलिया खेल्ने भएकोले पनि गाउँघरको माहोल उमंगित बनेको नौगाडका स्थानीय ममिता ठगुन्नाले बताउनुभयो । मार्मा र नौगाडमा १ गते विभिन्न देवता मान्ने धामीहरु चल्छन (काम्छन) । सिप्टीमा दुर्गाको मन्दिरमा धामी कामेर (चलेर) चामल पैटने र त्यहाँबाट कामेकै अवस्थामा विनायक धारदेखि दुर्गाको मन्दिर थानसम्म पुगेर फर्किएपछि बिसु जात सेलाउने (समापन गर्ने) परम्परा रहेको छ । पहिलो दिन १ गते विभिन्न सांस्कृतिक गतिविधिसंगै धामी चल्ने र सिस्नु खेल्ने, मिठो परिकार खाने चलन छ भने दोस्रो दिनदेखि विशेषगरी देउडा र छलिया खेल खेल्ने प्रचलन छ । मार्मा क्षेत्रमा विशेषगरी दुर्गा भगवतीको नाममा बिसु मनाउने चलन रहेको उहाँले बताउनुभयो ।

बिसु नजिकिएपछि पछिल्लो साता दार्चुलाको खलंगा, तिग्रम, दत्तु, लाली लगायत विभिन्न सीमानाकाबाट दैनिक रुपमा रोजगारीको सिलसिलामा भारतको विभिन्न शहर गएकाहरु बिसुका लागि घर फर्किएका छन् । ग्रामीण क्षेत्रमा बिसु पर्वको तयारी तथा सामानको जोहो गर्ने चटारो चलिरहेको छ । घरहरु कमेरो माटोले लिपपोत गरेर चिटिक्क पारिएको छ । बजारमा समेत किनमेल गर्नेको चलहपहल बढेको छ । बजारबाट बिसुको लागि घर जानेको समेत भिड रहेको यातायात व्यवसायीहरु बताउछन् ।

दार्चुलाको मार्मा क्षेत्रको गुल्जर र नौगाडमा बिसु जात्राको तयारी अन्तिम अवस्थामा पुगेको छ । प्राचीनकालमा सञ्चार साधनको अभावमा परदेशीको रैवार घरसम्म नपुग्ने अवस्थामा वर्षमा एक पटक अनिवार्य रुपमा बिसु पर्वमा घर पुग्नु पर्ने बाध्यता थियो । बिसु पर्वमा राम्रो परिकार, परिहनका साथै रमाइलो गर्ने चलन छ ।

बिसुमा सिस्नु खेल्ने परम्परा समेत रहेको लेकमका स्थानीय कृष्णदेव जोशीले बताउनुभयो । बिसुमा देवर भाउजू, नन्द भाउजू र साली भिनाजुबीच सिस्नु लगाउने चलन पनि छ । खासगरी बिसु पर्व बिष पखाल्ने पर्वका रुपमा मनाइन्छ । बिहानै स्नान गरी सिस्नु लगाई बिष पखाल्ने परम्परा रहेको बुढापाकाहरु बताउछन् । अहिले बिसु पर्वलाई विशेष भेटघाटका रुपमा लिने गरिन्छ । नयाँ बर्ष तथा बिसु तिहार नजिकिदा सीमा नाका र भिडभाड हुने बजार क्षेत्रमा समेत सुरक्षा सकर्तकता बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?