संघीयतामा संघीय र प्रदेश सरकारभन्दा स्थानीय सरकार सबैभन्दा उत्कृष्ट, वास्तविक र जनताको घरदैलोको सरकार हो भन्ने कुरा पुष्टि भैसकेको छ ।

संघीय र प्रदेश सरकार भन्दा जनताका खास आवश्यकता पूरा गर्न स्थानीय सरकार अत्यन्तै प्रभावकारी भैसकेको छ । यही क्रममा मेरो स्थानीय सरकारलाई सामान्य सुझाव राखेको छु । दार्चुलास्थित दुँहु गाउँपालिकाको ३ वर्ष कस्तो रह्यो ?

शुशासनका आधार तत्व व्यक्तिको नभई कानूनको शासन, पारदर्शिता, जनसभागिता, उत्तरदायित्व र भ्रष्टाचार नियन्त्रणमा कत्तिको सफल रह्यो ? कि गाउँपालिकाको यात्रा ठिक उल्टो छ ? कुशासन, भ्रष्टाचार, ढिलासुस्ती, अनियमिता, नातावाद, कृपावाद, पार्टीवाद सबै गाउँपालिकालाई समृद्धि होईन, अधोगतितर्फ धकेल्छ । यी विषयहरुमा गाउँपालिका सचेत छ वा छैन ?

९९% सिट जितेर एकलौटी स्थानीय सरकार चलाईरहेको गाउँपालिका दुईतिहाईको सरकारभन्दा कयौं गुणा शक्तिशाली हो भन्नेकुरा मैले भनिरहनुपर्दैन । गाउँसभामा प्रतिपक्षीसमेत नभएको हाम्रो दुँहुमा विकास हुनुको जस र नहुनुको अपजस दुबै गाउँपालिकालाई नै जाने हो ।

स्थानीय सरकारमा प्रतिपक्षी नै छैन भनेर जनप्रतिनिधिहरुमा अहंकार पलायो भने त्यसले सुशासन होईन कुशासनको बाटोतर्फ डोर्याउछ ।

२१ औं शताब्दीका दुँहुबासी जनता ढुंगेयुगमा झै जसले जे भन्यो त्यसैमा ’हो’ मिलाउने खालका पक्कै छैनन्, उनीहरुमा पनि चेतना, तार्किक क्षमता र सहि गलत छुट्ट्याउने क्षमता छ । जनताको करमाथी हुने कसैको एकलौटी रजाईको आम जनताले हिसाब राखिरहेका छन् ।

दुँहु सरकारको आजको एउटा निर्णयले भोलीको ’सुन्दर दुँहु, हराभरा दुँहु’ निर्माणमा ठुलो अर्थ राख्दछ । दुँहुको भविष्यमाथी गहिरो अर्थ राख्ने गरी हुने निर्णयमा सबैले निगरानी राख्नु र स्थानीय सरकारलाई सुझाव, सल्लाह दिनु अति आवश्यक हुन्छ अन्यथा भोलीको पिढिले हामी सबैलाई नधिक्कार्ला भन्न सकिन्न ।

हो, प्रतिपक्षीको रुपमा निर्वाचित जनप्रतिनिधिहरु नहोलान तर स्थानीय जनता, आम बौद्धिक वर्गले दुँहु सरकारलाई निरन्तर वाच गरिरहेको छ, नजिकबाट नियालिरहेको छ । दुँहुका लागि म नै सर्वेसर्वा ठान्ने प्रवृती बढ्दै गयो भने त्यसले समृद्धिको सुमार्ग होईन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रातोघर र विषेश अदालतको प्राङ्गणमा पुर्याउने कुरामा सिङ्गो गाउँपालिका सचेत र सजग हुनुपर्छ । त्यतिबेला हामी सबै लज्जित हुनुभन्दा समयमै सबै सचेत भएर काम गर्नु बुद्धिमानी हुन्छ ।

निर्वाचित भैसकेपछी सरकारले पार्टीको लिगेसी छोडेर सबै जनताको लिगेसी समात्नु पर्दछ । दुँहु सरकार पार्टीको भयो वा सम्पूर्ण जनताको ? जनताले यस्तो प्रश्न गर्ने दिन हाम्रो स्थानीय सरकारले आउन दिनुहुँदैन । यदि यो प्रश्न खडा हुने परिस्थिति सिर्जना भएको हो भने त्यो हामी सबै दुँहुबासीका लागि ननिको (खराब) परिस्थिति हो ।

तसर्थ, दुईतिहाई भन्दा पनि अत्यन्तै धेरै ९९% एकलौटी सरकार चलाईरहेको हाम्रो दुँहु सरकार एउटा पार्टीको होइन सिङ्गो दुहुबासी जनताको बन्न सकोस्, यो सुझाब दुँहु गाउँपालिकासंगै सबै स्थानीय तह र सरकारहरुले आत्मसात गर्न सकुन, बडादशै २०७७ को हार्दिक शुभकामना । धन्यबाद ।

लेखक कृष्ण महरा अधिवक्ता एबं स्तम्भकार हुन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?