२०७७ सालको नेपालीहरुको महान चाड बडा दशैँ र तिहारको बहार सँगै रेडियो लोकदर्पण ९४.६ मेगाहर्ज पनि दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७६ साल कार्तिक १२ गते शुभ दिपावलीको दिनदेखि शुरु भएको रेडियो लोकदर्पण ९४.६ मेगाहर्ज (समाजको ऐना) को प्रसारण यात्रामा समस्त श्रोता, सूचना तथा विज्ञापनदाता र सबै शुभचिन्तकको सहयोग, स्नेह र हौसलाका लागि हामी कृतज्ञ छौँ ।
धेरै सपनाहरुलाई मूर्त रुप दिन बाकी छ । सञ्चारको माध्यमबाट सूशासनसहितको आर्थिक विकास र सामाजिक रुपान्तरणको अभियानमा अगुवाई गर्ने र अभियान्ताहरुसंगै सहयात्रा गर्ने हाम्रो योजनाले यात्रा शुरु गरेपनि अझै यसमा आमुल स्तरोन्नती गर्नुपर्ने आवश्यकता महसुस यहाँहरुलाई मात्र हैन, हामीलाई पनि भएको छ । निर्भीकताका साथ अझै सत्य, तथ्यमा आधारित अनुसन्धानमुखी, अझै वस्तुनिष्ठ र स्थलगत रिपोर्टिङबाट हामी यहाँहरुको अपेक्षालाई सम्बोधन गर्ने प्रयास गर्नेछौँ ।
हामीले यहाँहरुकै अपेक्षा, सुझाब र प्रतिक्रियाको आधारमा समाचार सँगै शिक्षा, सूचना र मनोरञ्जनात्मक कार्यक्रम र सामाग्रीहरुलाई समेत रेडियोको माध्यमबाट उत्पादन, प्रसारण तथा प्रस्तुत गर्दै आएका छौँ ।
यहाँहरु जस्तै हाम्रो पनि प्राथमिक चाहाना भनेको सकारात्मक परिवर्तन, समाज सुधार, आर्थिक विकास, समृद्धि, सूशासन र दिगो विकास हो । नेपालको दुर्गम जिल्ला दार्चुला त्यसमा पनि विभिन्न चुनौती र समस्याहरुले जगडिएको तर सम्भावना भने बोकेको क्षेत्र लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपाता, चन्नौलामा प्रधान कार्यालय स्थापना गरेर हरेक दिन बिहान ५ बजेदेखि राती ११ बजेसम्म फिक्वुन्सी मोडुलेसनको विद्युतिय तरङ्ग मार्फत हामी यहाँहरुसंगै उपस्थित छौँ । सबैभन्दा नजिकको सरकार स्थानीय तह अर्थात पालिकाहरुले समाज, भुलोग र नागरिक अनुकुल दिगो विकासको परिकल्पना गरेर सोहि अनुसार गतिविधि अर्थात आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गरोस भन्ने हाम्रो प्रमुख ध्येय हो ।
गलत राजनीतिक संस्कार लगायत विभिन्न कारणले अपेक्षा अनुसार जनहितकारी योजना कार्यक्रमहरु तिब्र गतिमा जवाफदेहिता र पारदर्शीताका साथ कार्यान्वयन नहुदा हामी सत्ताको आलोचना वा खबरदारी गर्न खोज्छौँ, पहुँचको आधारमा गरिरहेका पनि छौँ । पक्कैपनि पत्रकारिता सत्तालाई खुसी पार्न सक्ने पेसा होइन । निर्भय र निष्पक्ष पत्रकारिताले सबैभन्दा उद्वेलित कसैलाई बनाउँछ भने त्यो सत्ता वा सत्ता सञ्चालकहरुलाई नै हो ।
सत्तासँग हाम्रो कुनै पूर्वाग्रह छैन, जनभावना अनुसारका प्रश्नहरू अवश्य छन् । जहाँ जनताको आकांक्षा र सत्ताको स्वार्थ बाझिन्छ, हामी हमेसा र विनासर्त जनताको पक्षमा छौँ र रहिरहने छौँ । तर यसो भनिरहदा कुनै सरकार, व्याक्ति वा समाजले राम्रो अभ्यास, काम वा गतिविधि गरिरहेको छ भने त्यसलाई हौसला प्रदान गर्ने र सकारात्मक प्रचारप्रसार गर्ने काम पनि हामीले गरिरहेका छौँ । राम्रोको समर्थन वा प्रचारप्रसार र नराम्रोको आलोचना वा खबरदारी गर्ने हाम्रो प्रमुख धर्म हो, जसलाई निभाउन हामी सधैँ जागा छौँ ।
हामीले प्रस्तुत गर्ने सामग्रीप्रति जिम्मेवार र जवाफदेहिताबाट हामी आफैँ पनि उन्मुक्त छैनौँ । धेरै कुराहरु सिकाईको क्रममा भएकोले कमिकमजोरीहरु पक्कै पनि होलान, त्यसमा यहाँहरुको रचनात्मक सुझाबहरुलाई शिरोधार्य गरेर रेडियो लोकदर्पण हरेक बिहान ५ बजेदेखि राती ११ बजेसम्म हजारौँ श्रोताको अदालतमा खडा हुन्छ । त्यही नै हाम्रो अन्तिम अदालत हो र त्यसको आदेश हाम्रा लागि परमादेश सरह हो ।
हामी केन्द्रमुखी छैनौँ । समाज परिवर्तनको ध्येयले गरिने पत्रकारिता केन्द्र वा सदरमुकामको वातानुकूलित केन्द्रीय कार्यालय वा प्रसारण केन्द्रले धान्दैन भन्नेमा हामी स्पष्ट भएर नै विभिन्न चुनौतीका बिच गाउँबाट पत्रकारिताको अभ्यास गरिरहेका छौँ । हामी हाम्रा श्रोतालाई शिक्षा, मनोसूचनात्मक समाचार र मनोरञ्जन पस्किन सदा प्रयत्नरत छौँ ।
हाम्रो समाज मात्र हैन, विश्व नै अहिले कोरोना महामारीसँग जुधिरहेको छ । सामूहिक र जिम्मेवार संकल्पले मात्र यो महामारीलाई पराजित गर्न सकिन्छ । त्यसैले रेडियो लोकदर्पणको पहिलो वार्षिकोत्सबको शुभ अवसरमा कोरोनाबाट बच्दै अरु संकल्प र सपनाहरु साकार पार्न हामी सबैले आफ्नो ठाउँबाट योगदान दिन सकौँ र सकियोस भन्ने शुभेछ्या व्यक्त गर्दै आगामी दिनमा यहाँहरुको निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्दछौँ ।
हामीले कोरोना महामारी र अन्य परिस्थितिले वार्षिकोत्सब कार्यक्रमलाई औपचारीकता दिन नसकेपछि विगतबाट सिक्दै बर्तमानमा फरकपन र थप प्रभावकारीताका साथ अगाडी बढ्न प्रयत्नशिल हुने प्रण गर्दछौँ । हाम्रा विभिन्न सामाग्रीहरु रेडियो लोकदर्पणकै पार्टनर मिडिया लोकदर्पण टीभी डटकम अनलाइन पोर्टल र लोकदर्पण टीभी युट्युब च्यानलमार्फत समेत हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ । धन्यबाद!
स्टेशन म्यानेजर लोकेन्द्रप्रसाद जोशी
रेडियोको बारेमा र हाम्रो बारेमा थाहा पाउँन तलको लिकंमा क्लीक गर्नुहोस






