दार्चला । बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक वर्षमा एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउने भएको छ।
आव २०७९/०८० देखि एचआइभी सङ्क्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउँदै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो। चालु आवमा एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउन एक लाख विनियोजन गरिएको छ। अहिले नगर क्षेत्रभित्र ३६ एचआइभी सङ्क्रमित रहेका छन्।
उनीहरुलाई सोही एक लाखबाट पोषण खर्च उपलब्ध गराइने उहाँले बताउनुभयो। आव २०७९/०८० मा एचआइभी सङ्क्रमितलाई तीनदिने व्यावसायिक तालिमसहित उनीहरुलाई वस्तुगत टेवाका लागि प्रतिव्यक्ति १२ हजारका दरले उपलब्ध गराएको छ।
आव २०८०/०८१ मा पोषण खर्चबापत प्रतिव्यक्ति ६ हजारका दरले उपलब्ध गराइएको थियो। गत आवमा ३५ जनालाई जनही पाँच हजार सातका दरले पोषण खर्च उपलब्ध गराएको थियो। एचआइभी सङ्क्रमितलाई जीवनयापनमा सहज होस् भनेर पोषण खर्चका लागि रकम विनियोजन गरिएको नगर प्रमुख गौरीसिंह रावलले बताउनुभयो ।




