दार्चुला । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले विशेष महाधिवेशनले गरेको नेतृत्व चयनसहितको दस्तावेज निर्वाचन आयोगमा बुझाएका छन् ।
सभापति थापाले बिहीबार (माघ १) मा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन् । बिहीबार सभापति थापासहितका नवनिर्वाचित पदाधिकारीहरू आयोगमा पुगेका थिए ।
बिहीबारै बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकपछि उनीहरू पार्टीको विवरण अद्यावधिक गराउन आयोग गएका हुन् । आयोग जानेमा थापासहित उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत पदाधिकारी छन् ।
सभापति चयन भएका गगन थापाले निर्वाचन आयोगले आफूहरूलाई ३ गतेभित्र आधिकारिकता दिने विश्वास व्यक्त गर्नुभएको छ।
निर्वाचन आयोगमा अद्यावधिक विवरणसहित आधिकारिकताको दाबी गर्न पुगेका थापाले यस्तो बताउनुभएको हो ।
आफूहरूले केन्द्रीय कार्यसमिति भंगको जानकारी निर्वाचन आयोगमा गराउँदै विशेष महाधिवेशन आयोजना गरेको हुनाले आफूहरूले नै आधिकारिकता पाउने उहाँको भनाइ छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार राजनीति दलको पदाधिकारी परिवर्तन भएमा आयोगलाई जानकारी गराउनुपर्ने हुन्छ । यस्तै, दलको चुनाव चिह्न र झन्डाको आधिकारिकता विषयमा विवाद भएमा निर्वाचन आयोगमार्फत समाधान खोज्नुपर्ने हुन्छ । विशेष महाधिवेशन पक्षधर आफूलाई नै आधिकारिक दाबी गर्दै आयोग पुगेको हो ।
आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ माघ ६ गते मनोनयन गर्नुपर्ने भएकाले त्यसअघि नै यो विवाद टुंग्याइदिन विशेष महाधिवेशन पक्षधरले आयोगलाई आग्रह गरेका छन् ।




