दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा निर्माण भईरहेको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडले प्रभावित क्षेत्रका स्थानीयको हकहित र सेवा सुविधामा कुनै पहल नगरेको भन्दै स्थानीयले ध्यानाकर्षण गराएका छन् । अपिहिमाल गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा निर्माण भएको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण सुरुआतदेखि स्थानीय जनताको हकहित तथा वातावरणमा प्रत्यक्ष प्रभाव पारे पनि स्थानीयको सेवा-सुविधामा कुनै पहल नगरेको भन्दै योजना प्रभावित क्षेत्रका स्थानीयहरुले कम्पनी र गाउँपालिकालाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका हुन् ।

मकरीगाड हाइड्रोपावर संर्घष समितिले पुस २५ गते मकरीगाड हाइड्रो पावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशकलाई ज्ञापनपत्र बुझाएको बताएका छन्। ज्ञापनपत्रमा कम्पनीले शेयर जारी गर्ने तयारी गरेको सन्दर्भमा स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ सुनिश्चित गर्न माग गरिएको छ । कम्पनीलाई बुझाइएको ज्ञापनपत्रमा कम्पनीले वितरण गर्न लागेको शेयरमध्ये अपिहिमाल गाउँपालिकाबासीलाई निःशुल्क शेयर कित्ता उपलब्ध गराउनुका साथै स्थानीय अति प्रभावित क्षेत्रले पाउने १० प्रतिशत शेयरलाई १०० प्रतिशत मानी त्यसको ८० प्रतिशत शेयर अपिहिमाल गाउँपालिकाबासीलाई उपलब्ध गराउनुपर्ने माग गरिएको मकरीगाड हाइड्रो पावर संर्घष समितिका संयोजक देवेन्द्र सिंह रोकायाले बताउनुभयो ।

त्यसैगरी आयोजनाबाट प्रभावित क्षेत्रमा सडकमा पक्की वाल तथा आवश्यक स्थानमा तटबन्ध निर्माण, आयोजनाका कारण पानीका मुहान सुकेका स्थानमा खानेपानी योजना निर्माण, विस्थापित भएका घट्टहरूको पुनःनिर्माण वा नयाँ घट्ट निर्माण गर्नुपर्ने माग राखिएको छ । साथै प्रभावित क्षेत्रका विद्यालय भवन निर्माण, आधारभूत स्वास्थ्य संस्थामा उपकरण उपलब्ध गराउने तथा अन्य आवश्यक स्थानीय पूर्वाधार निर्माण गरिदिनुपर्ने मागसमेत ज्ञापनपत्रमा समावेश गरिएको लोकदर्पण टिभीसंगको कुराकानीमा संयोजक रोकायाले भन्नुभयो ।

ज्ञापनपत्रमा मागहरू ३ दिनभित्र सम्बोधन नभएमा हाइड्रो पावर प्लान्ट बन्द गर्ने लगायतका थप संघर्षका कार्यक्रम घोषणा गरिने चेतावनी समेत दिइएको छ ।

यसैगरी सोही समितिले सोमबार (आज) अपिहिमाल गाउँपालिका अध्यक्षलाई अर्को ज्ञापनपत्र बुझाएको बताएका छन्। गाउँपालिकालाई बुझाइएको पत्रमा मकरीगाड हाइड्रोपावर कम्पनीलाई पुस २५ गते ज्ञापनपत्र बुझाइएको जानकारी गराउँदै मागहरू सम्बोधन गर्न कम्पनीसँग आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ । उक्त परियोजनाबाट अपिहिमाल गाउँपालिका वडा नम्बर ३, ४ र ५ लगायतका क्षेत्रका १४ सयभन्दा बढी परिवार प्रभावित रहेको बताइएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?