सुरज महारा, बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा कार्तिक २४ गतेदेखि रामलीला ज्ञान महोत्सव सञ्चालन हुने भएको छ। श्रीकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा मंसिर ३ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी अघि बढाइएको छ।
सांस्कृतिक संरक्षण समाजको आयोजनामा हुन लागेको महोत्सवको उद्देश्य धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, संवर्द्धन र प्रचारप्रसार गर्नुका साथै स्थानीयस्तरमा धार्मिक चेतना अभिवृद्धि गर्नु रहेको छ।
महोत्सवलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न आयोजक संस्थाले छुट्टै रामलीला व्यवस्थापन समिति गठन गरेको छ। सांस्कृतिक संरक्षण समाजका अध्यक्ष मोहनसिंह कार्कीको नेतृत्वमा आयोजना हुन लागेको महोत्सवको व्यवस्थापकीय जिम्मेवारी भने राजबहादुर कार्कीको अध्यक्षतामा गठित व्यवस्थापन समितिले सम्हाल्नेछ।
श्रीकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दान सिंह कार्कीले रामलीलाले धार्मिक कथा र अभिनयमा मात्र सीमित नभई भगवान् श्रीरामका आदर्श, सत्य, धर्म, त्याग, मर्यादा र कर्तव्यबोधलाई समाजमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।
धार्मिक तथा सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई मौलिक संस्कृति, परम्परा र संस्कारसँग जोड्नसमेत महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ।
कार्तिक २४ देखि मंसिर ३ गतेसम्म श्रीकोटमा सञ्चालन हुने रामलीला ज्ञान महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन आयोजकले सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गरेको छ।





प्रतिक्रिया