दार्चुला । एमाले उपाध्यक्ष भीम रावलले संसद सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको छैन । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि आइतबार सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा पत्र बुझाउनुभएको थिएन ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले रावलको राजीनामा विचाराधीन अवस्थामा रहेको जानकारी दिनुभयो । ‘अहिले केही भएको छैन्,’ उहाँले भन्नुभयो, ‘सभामुखलाई बुझाउनु भएको हो । सभामुखले सभामा घोषणा गरेमा वा सूचना टाँसेमा मात्रै त्यो ‘इफेक्टिभ’ हुन्छ । अहिलेसम्म त्यो विचाराधीन अवस्थामा छ।’
एमालेभित्रैबाट राजीनामा फिर्ता लिन रावललाई दबाब परेको छ। नेता सुरेन्द्र पाण्डेले रोक्दारोक्दै उहाँले राजीनामा पत्र पत्रकारहरुमाझ पढेर सुनाउनुभएको थियो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको १० औं केन्द्रीय कमिटी बैठकमा रावलले हतारिएर राजीनामा दिएको भन्दै सकिने भए फिर्ता गराउनुपर्ने बताउनुभएको थियो ।
ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिए पनि त्यो आवश्यक नरहेको बताउनुभयो ।
बैठका निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीलले पनि संवाददाताहरुमाझ रावलको राजीनामा ठीक नभएको बताउनुभयो। एमाले नेता वामदेव गौतमले पनि राजीनामा अनुपयुक्त भएको बताउनुभएको छ ।
यसैबिच नेकपा एमाले केन्द्रीय कमिटी बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ ।
सोमबार बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिनुभयो ।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूले १० बुँदे स्वीकार गरेर कार्यन्वयनमा लगे पनि माधव नेपालले नमानेको बताउनुभयो । बैठकमा आउन आग्रह गर्न गएका कार्यदलका सदस्यहरुसँग नेपालले आफू अल्पमतमा रहेको बैठकमा नआउने जवाफ दिएर पठाएको ओलीले बताउनुभयो ।
ओलीले माधव नेपालले कम्युनिस्ट आन्दोलनमा गद्दारी गरेको भन्दै क्षमा हुन नसक्ने बताउनुभएको छ ।
अर्को बैठक मंगलबार अपरान्ह ३ बजे बस्ने भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया