चाडपर्व मर्यादित रूपमा मनाउन दार्चुला प्रशासनको आग्रह, उल्लङ्घन गरे कारबाही हुने

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले दीपावली तथा छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । चाडपर्वका नाममा जुवातास खेल्ने, पटका पड्काउने, जबर्जस्ती रकम माग्ने तथा सार्वजनिक शान्ति सुरक्षामा असर पर्ने गतिविधि नगर्न प्रशासनले सचेत गराएको हो ।

प्रमुख जिल्ला अधिकारी बर्तराज पौडेलले सोमबार (आजू) एक सूचजा जारी गर्दै देउसी–भैलो, सांस्कृतिक कार्यक्रम तथा स्थानीय जात्रा–मेलाहरू सभ्य र अनुशासित ढङ्गले सञ्चालन गर्न आग्रह गर्नुएको छ । देउसी–भैलो खेल्दा निजी घर, व्यापारिक प्रतिष्ठान तथा कार्यालयमा सम्बन्धित घरधनी वा जिम्मेवार व्यक्तिको अनुमति लिएर मात्रै प्रवेश गर्न र जबर्जस्ती रकम नउठाउन प्रशासनले आग्रह गरेको छ ।

प्रशासनले बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन अभिभावकलाई आग्रह गरेको छ । देउसी–भैलोमा सहभागी हुने बालबालिकाको निगरानी राख्न तथा उनीहरूलाई असुरक्षित स्थान र जोखिमपूर्ण गतिविधिमा संलग्न नगराउन सूचनामा उल्लेख छ । भुइँचम्पा, पटका तथा आतिसबाजीजस्ता विस्फोटक पदार्थको आयात, ओसारपसार, बिक्रीवितरण र प्रयोग नगर्न पनि भनिएको छ ।

त्यस्तै, चाडपर्वका बेला जुवातास तथा सट्टेबाजी गर्ने, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला र झैझगडा गर्ने गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ । अखाद्य वस्तु मिसाइएका तथा गुणस्तरहीन मिठाई बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने र उपभोक्ता हितविपरीतका काम नगर्न व्यवसायीलाई आग्रह गरिएको छ ।

यात्रुको चाप बढ्ने समयमा सार्वजनिक सवारीसाधनले तोकिएकोभन्दा बढी भाडा लिन तथा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने सूचनामा उल्लेख छ । यात्रुहरूलाई पनि यस विषयमा सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

स्थानीयस्तरमा आयोजना हुने दिवाकालीन तथा रात्रिकालीन जात्रा र मेलाको मिति तथा समयबारे आयोजक वा सर्वसाधारणले प्रशासन तथा नजिकको सुरक्षा निकायलाई जानकारी गराउनुपर्नेछ । यसबाट आवश्यक सुरक्षा व्यवस्था मिलाउन सहज हुने प्रशासनको भनाइ छ ।

सूचनामा उल्लेखित व्यवस्था कार्यान्वयनका लागि जिल्लाका सबै स्थानीय तहलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न पनि आग्रह गरिएको छ । सूचनाविपरीतका गतिविधि गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?