दार्चुला । नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिने भएका छन्। असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि रावलले राजीनामा दिएका थिए।
देउवालाई विश्वासको मत दिने नदिनेबारे एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग खटपट भएपछि उहाँले राजीनामा दिएका थिए। रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए। तर, पत्रकारलाई आफूले राजीनामा दिएको जानकारी दिएका थिए।
राजीनामा फिर्ता गर्न आग्रह गर्दै एमाले वरिष्ठ नेता नेपाल बिहीबार रावल निवास टोखा पुगेका थिए। त्यस्तै‚ सुदूरपश्चिम प्रदेशका सांसदहरुले पनि उहाँलाई राजीनामा फिर्ता लिन दवाब दिएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।
रावलले आज बस्ने प्रतिनिधिसभा बैठकअघि राजीनामा फिर्ता लिने बुझिएको छ। रावलले एमालेको विवाद समाधान गर्न नेपाल समूहबाट कार्यदलको संयोजक भएर १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए। तर, वरिष्ठ नेता नेपालले त्यसको कुनै अर्थ नभएको भन्दै फर्काएपछि रावल नेपालसँग चिढिएका थिए।
उहाँ पछिल्लो पटक नेपाल समूहको स्थायी कमिटी बैठकमा पनि उपस्थित भएका छैनन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया