दार्चुला । काँग्रेसले ९ वटा भ्रातृ संस्थाको म्याद ६ महिना थपेको छ । शनिबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले ९ वटा भ्रातृ संस्थाको म्याद थप्ने निर्णय गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
म्याद समाप्त भएका भ्रातृ संघहरू नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज रहेका छन् ।
उनीहरुको म्याद ६ महिना थप गर्ने निर्णय गरिएको छ । नेविसंघको तदर्थ समितिको २ पटक थप भएको म्याद सकिँदासम्म पनि महाधिवेशन हुन सकेको छैन। शनिबार तेस्रो पट म्याद थपिएको छ । यस्तै तरुण दलको पनि २ पटक थपिएको म्यादसमेत सकिएपछि तेस्रो पटक थपिएको छ । किसान संघमा १६ महाधिवेशन हुन सकेको छैन । म्याद थपिएको थपिएकै छ । यस्तै प्रजातन्त्र सेनानी संघको अधिवेशन पनि १४ वर्ष देखी भएको छैन ।
६४ सालदेखि आदिवासी जनजाति संघको पनि अधिवेशन भएको छैन । म्याद थप्ने क्रम जारी छ । दलित संघको महाधिवेशन ०६९ हुन सकेको छैन । राष्ट्रिय लोकतान्त्रिक अपांग संघको पनि ०६६ सालयता महाधिवेशन भएको छैन ।
तामाङ संघको महाधिवेशन नभएको पनि ६ वर्ष भइसकेको छ । ठाकुर समाजले काँग्रेसको १२औं महाधिवेशनबाट भ्रातृ संस्थाका रूपमा मान्यता पाएपनि अहिलेसम्म अधिवेशन भएको छैन ।
यसैबिच नेपाली काँग्रेसले १४ औं महाधिवेशन आसन्न मंसिरमा गर्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गते महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बताउनुभयो ।
उहाँका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउने समय तोकिएको छ । भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने काँग्रेस बैठकले निर्णय गरेको छ ।
वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते गर्ने काँग्रेसले निर्णय गरेको छ । आसन्न भदौ १६ देखि १९ का लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि काँग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया