दार्चुला । सुदूरपश्चिममा एमालेका उपाध्यक्ष भीम रावलको प्रभाव बलियो छ। विगतदेखि नै माधवकुमार नेपाललाई साथ दिदै आएका रावल शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएदेखि तटस्थ जस्तै देखिएका छन्। उनले नेपालको साथ छोडेको चर्चा पनि छ। रावलले नेपाल समूहको नयाँ पार्टी नेकपा एमाले (समाजवादी) दर्तामा पनि साथ दिएनन्।
उपाध्यक्ष रावलले साथ छोडेका कारण माधव नेपालले सुदूरपश्चिमका प्रदेशसभा सदस्यको साथ पनि गुमाएको आकलन गर्न थालिएको छ। अधिकांश प्रदेश सांसदहरु रावलले लिने निर्णयअनुसार नै अगाडि बढ्ने तयारीमा देखिएका छन्। नेता रावलले एमालेमै रहने वा एमाले समाजवादीमा जानेबारे निर्णय नगर्दा अहिले अधिकांश प्रदेश सांसद मौन रहेको एक सासंदले बताउनुभयो । ‘हाम्रो नेता भीम रावल हुन्,’ उहाँले भन्नुभयो, ‘रावलको निर्णयअनुसार नै सुदूरपश्चिमको अंकगणित पनि फेरबदल हुन्छ।’
अहिले नेपाल समूहको एमाले समाजवादीको केन्द्रीय कमिटीमा सुदूरपश्चिमका २५ प्रदेश सांसद मध्ये दुई जना मात्रै परेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी र पूर्ववनमन्त्री माया भट्ट मात्रै केन्द्रीय कमिटीमा परेका छन्। विगतमा माधव समूहमा १८ जना र ओली समूहमा सात जना प्रदेश सांसद रहेका थिए। पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिह बोहरा, रतन थापा, नेपालु चौधरी र बलदेव रेग्मी ओली पक्षमा थिए भने वर्तमान मन्त्रिमण्डलका चार मन्त्रीसहित १८ जना सासंद नेपाल पक्षमा थिए।
तर मन्त्री जोशीबाहेक अन्य मन्त्रीले समेत एमाले विभाजनलाई साथ दिएका छैनन्। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी र सामाजिक विकास मन्त्री लालबहादुर खड्काले तत्काल एमालेमै रहने संकेत देखाएका छन्। यद्धपी दीर्घबहादुर सोडारी माधव नेपालसंग पनि सम्पर्कमा भएकोले पर्ख र हेरको अवस्थामा रहेको स्रोतले जनाएको छ ।
राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशले प्रदेश सासंद र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनभित्र पार्टी छान्नुपर्ने सुविधा दिएको छ। २१ दिनपछि मात्रै एमालेमै रहने प्रदेश सांसद र एमाले समाजवादीमा जाने सांसदको टुंगो लाग्ने देखिन्छ। पद नजाने भएपछि केही जनप्रतिनिधिले कित्ता फेरबदल गर्न सक्ने आकलन समेत गरिएको छ । वर्तमान सरकारले पार्टी फुटाएर जानेलाई फाइदा हुने गरेर अध्यादेश ल्याएपछि चौतर्फी आलोचना भइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया