दार्चुला । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाललाई सनाखतका लागि बोलाएको छ । आयोगका सूचना अधिकारी कोमलप्रसाद धमलाका अनुसार दुवै पार्टीलाई भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेभित्र सनाखतका लागि आयोगमा बोलाइएको हो ।
‘उहाँहरुको केन्द्रीय कमिटी सदस्य र सांसदको सनाखत हुनेछ,’ सूचना अधिकारी धमलाले भन्नुभयो । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि बुधबार नेकपा एमालेबाट अलग भएको माधव नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दर्ता गराएको छ । यस्तै जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर महन्थ ठाकुर समूहले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएको छ ।
प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेपाल अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनालसहित ११५ जना केन्द्रीय सदस्य छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीमा ठाकुर अध्यक्ष, राजेन्द्र महतो र शरतसिंह भण्डारी वरिष्ठ नेतासहित ३१ जना कार्यकारिणी सदस्य छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया