दार्चुला । एमालेका उपाध्यक्ष भिम रावलले पार्टी विभाजनपछि शक्ति गुमाउन थालेका छन् । रावलको गृह जिल्ला अछामकै शेरबहादुर कुँवर माधव कुमार नेपाललाई साथ दिएर नेकपा एकीकृत समाजवादीतिर लाग्नुभएको छ । कुँवरको यो कदमले रावललाई गृह जिल्लामै झट्का लागेको छ। सुरुवातदेखि नै कुँवर रावलको पक्षमा थिए। तर, नेकपा एमाले फुटमा रावलले आफूनिकट कुँवरलाई सँगै राख्न नसकेको नेताहरु बताउछन् । कुँवरले मात्रै होइन, रावलका विश्वासपात्र मानिने सुदूरपश्चिमका अन्य जिल्लाका केहि नेताहरुले साथ छोडेकाले शक्ति क्षयीकरण भइरहेको छ ।
‘हिजोका दिनमा प्रदेशमा भीम रावलकै दबदबा थियो। अब त्यो अवस्था नरहने देखिन्छ,’ एमाले छोडेका एक नेताले भन्नुभयो, ‘हामी पनि उहाँ र माधव कमरेडलाई नै नेता मानेर हिँडेका थियौँ। उहाँ (रावल) ले माधव कमरेडलाई धोका दिनुभयो, हामीले त्यसो गर्न सकेनौँ।’ एमाले स्थायी कमिटी बैठकले एकता कार्यदलको १० बुँदे सहमति कार्यान्वयन र पार्टीका हरेक तहका संरचनालाई २०७५ जेठ २ पुगेकै अवस्थामा फर्काउने निर्णय गरेपछि रावलसहित मध्यमार्गी भूमिकाका १० नेता एमालेमै फर्किएका छन्। तर सुदूरपश्चिमका केहि नेताहरु भने एमालेमा नफर्किएर समाजवादीमा खुल्न थालेका हुन् ।
स्रोतका अनुसार गत चैत्र अन्तिम साता रावलको संयोजकत्वमा गठित नेपाल समूहको समानान्तर जिल्ला कमिटीका ५ अध्यक्षले उहाँको साथ छोडेका छन्। सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी पनि रावलका विश्वास पात्रमध्ये एक हुन्। तर एमाले फुटपछि उहाँले पनि भीम रावलको साथ छोडेका छन्। रावलनिकट रहेका सोडारी नेकपा एकीकृत समाजवादीमा लागेका छन्। प्रदेश सभामा सोडारीको बलियो पकड छ। एमाले कैलाली अध्यक्षसमेत रहेका उहाँलाई चैत्र २० मा ओली पक्षले हटाएको थियो। पछि रावलले उहाँलाई नेपाल समूहको समानान्तर कमिटीको अध्यक्ष बनाउनुभएको थियो ।
यता एमाले कञ्चनपुरका अध्यक्ष तथा प्रदेश सांसद तारालामा तामाङले पनि रावलको साथ छाडेका छन्। रावलनिकट तामाङ नेकपा एकीकृत समाजवादीमा खुलेका छन्। नेपाल समूहमा रहेकाले ओली पक्षले तामाङलाई पनि कञ्चनपुर अध्यक्षबाट हटाएको थियो। तर रावलकै पहलमा उनी नेपाल समूहको समानान्तर कमिटीका अध्यक्ष बनेका थिए। यस्तै डडेल्धुराका अध्यक्ष डा. तारा जोशी पनि नेकपा एकीकृत समाजवादीमै खुल्ने मनस्थितिमा छन्। सुरुवातदेखि नै नेपाललाई साथ दिएकाले अब पनि उतै जाने सम्भावना बढि रहेको डा. तारा जोशीले बताउनुभयो ।
नेपालनिकट उनलाई पनि ओली पक्षले अध्यक्षबाट हटाएको थियो। पछि रावलले डडेल्धुराको समानान्तर कमिटी अध्यक्ष चयन गरेका थिए। यता नेपालनिकट बझाङका अध्यक्ष दिल बहादुर सिंह पनि नेकपा एकीकृत समाजवादीतर्फ खुल्ने तयारीमा छन्। उनी ओली समूहले बनाएका अध्यक्ष अफिलाल ओखेडाको अध्यक्षतामा बसेको बैठकमा अनुपस्थित थिए। सिंहलाई पनि अध्यक्षबाट हटाइएको थियो। तर रावलको सक्रियतामा नेपाल समूहको समानान्तर कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको थियो।
सुदूरपश्चिम प्रदेश सभामा रावलको पकड बलियो छ। एमालेमा आन्तरिक विवाद रहेका बेला ओली समूहले माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकार ढाल्न खोजेको थियो। तर नेपाल समूहले त्यो सफल हुन दिएन। त्यसका लागि भीम रावल नै सक्रिय भएका थिए। माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेपाल समूहले विश्वासको मत दिएर सरकार जोगाएका थिए। नेपाल समूहमा आक्रमक शैलीमा लागेका रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनलाई असफल पारेका थिए। र पछि नेपाल–ओली समूहबीच कारबाहीको दोहोरी नै चलेको थियो। रावलको शक्ति बलियो भएकाले उनको चालकै वरिपरि सुदूरपश्चिमको राजनीति घुम्ने गरेको नेताहरुको बुझाइ छ। यद्यपि एमाले विभाजनले रावलले अब त्यो शक्ति गुमाउन सक्ने एमालेका एक नेताको दाबी छ।
सुदूरपश्चिममा सभामुखसहित एमालेका २५ सांसद छन्। तीमध्ये नेपाल समूहमा १७ र ओली समूहमा ७ जना खुलेका थिए। नेपाल समूहका ४ जना सांसद अहिले नेकपा एकीकृत समाजवादीमा लागेका छन्। अन्य १३ जना अझै अन्योलमा छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र पूर्व उद्योग, वन तथा वातावरणमन्त्री माया भट्टले पनि रावलको साथ छोडेका छन्। उनीहरु नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य चयन भएका छन्।
दल विभाजनसम्बन्धी अध्यादेशले पार्टी रोज्न २१ दिनको समयसीमा तोकेकोले अहिले नै को कता भनेर एकिन गर्न गाह्रो रहेको एक सांसदले बताए। कोही कोही नेता र सांसदहरु खुलेका छन् तर अझै सबै खुलेका छैनन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया