दार्चुला । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं सांसद दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले संसदमा नाराबाजी मात्र गर्ने र जवाफ सुन्न नचाहेको बताउनुभएको छ । सभामुखले संसदीय परम्परा, मूल्य मान्यता र प्रतिनिधिसभा नियमावलीबारे बारम्बार सजग गराएपनि एमालेले त्यो सुन्नै नचाहेको उहाँको भनाई छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद बडूले संसदमा उठेका कालो धन लगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद खोल्नुपर्ने बताउनुभयो । ‘कालोधनको नारा दिनुहुन्छ, त्यसको जवाफ दिने कसले? उहाँले एकोहोरो नारा त लगाइरहनुभएको छ । संसदीय परम्परा, मान्यता र हाम्रो प्रतिनिधिसभा नियमावलीले भनेका विषयहरु सभामुखले एकोहोरो सुनाइरहनुभएको छ, तर उहाँहरु त्यसलाई सुन्न तयार हुनुहुन्न,’ उहाँले भन्नुभयो, ‘सम्बन्धित पक्षले जवाफ दिन्थ्यो होला हाउसमा, हाउस चल्न दिएको भए । जे–जे नारा दिनुभएको छ पर्याप्त छ । अब त्यसको जवाफ सुन्नलाई हाउस चल्न दिनुपर्छ अनि मात्र उहाँहरुको एकोहोरो नाराको अर्थ हुन्छ, बडूले भन्नुभयो ।’
यसैबिच प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेको छ । एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरि पक्षपातपूर्ण व्यवहार गरेको भन्दै संसद् बैठकमा अवरोध गर्दै आएको छ । आजको बैठकमा पनि नाराबाजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो । एमाले सांसदहरूको विरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/०७७ प्रतिनिधि सभामा पेस गर्नुभयो ।
एमाले सांसदहरूले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन, संसदीय सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र चाहिँदैन, यथास्थितिमा संसद चल्दैन, गैरसांसदलाई प्रवेश निषेध गर, पदीय मर्यादा कायम गर लगायतका नारा लगाएका थिए । प्रतिनिधि सभाको आउँदो बैठक असोज २२ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया