दार्चुला । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा विधान महाधिवेशनको समिक्षा, कात्तिक ६ गते हुने वडा र ९ गते हुने पालिका अधिवेशनका साथै मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका बारेमा छलफल हुनेछ । साथै अविरल वर्षाका कारण देशमा भएको जनधनका बारेमा समेत छलफल गर्ने बैठकको एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
खासगरी एमालेको आजको बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन कहाँ गर्ने भन्ने स्थान तय गर्ने नेताहरुले बताएका छन् । उनीहरुका अनुसार राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने प्रस्ताव आएकाले बैठकले उक्त प्रस्ताव स्वीकार्ने सम्भावना रहेको छ । यसअघि भदौमा भएको विधान महाधिवेशन समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने माग आएकाले अन्यथा निर्णय नभए बुटवलमै महाधिवेशन गर्ने घोषणा गर्नुभएको थियो ।
एमाले वागमती प्रदेश कमिटीको अधिवेशनमा नेताहरुले राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन गर्न सुझाव दिँदै चितवनमा गर्नुपर्ने प्रस्ताव गरेपछि स्थायी कमिटीले स्थान परिवर्तनबारे निर्णय लिने बताएका थिए । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेका लागि तोकिएको छ ।
यसअघि कात्तिक ६ गते देशभरीका वडा र ९ गते एमालेले देशभर पालिका अधिवेशन गर्ने तयारी गरेको छ । अध्यक्ष ओलीले महाधिवेशन तोकिएकै समयमा हुने भन्दै त्यसको तयारी समेत सुरु भइसकेको बताएका छन् । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया