दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै प्रतिनिधिसभाबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास हुने बताउनुभएको छ । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताउनु भएको हो । सुदूरपश्चिमका डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा वाढी÷पहिरोले पारेको क्षति बुझेर धनगढी पुग्नु भएका प्रधानमन्त्री देउवाले बाढी÷पहिरो पीडितलाई तत्कालीन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने दोहोर्याउनुभयो ।
उहाँले बेमौसमी वर्षातले सुदूरपश्चिमको अवस्था भयावह भएकोले दुःखी भएको पनि बताउनुभयो । फरक प्रसंगमा उहाँले सुदूरपश्चिम प्रदेश लगायतका सरकार परिवर्तनका विषयमा गठवन्धनले आवश्यक निर्णय गर्ने बताउनुभयो । नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले काँग्रेसको महाधिवेशन सम्वन्धी काम निर्वाचन समितिले निर्णय गरे बमोजिम हुने बताउनुभयो । बैशाखमा अर्ली इलेक्सनको बहस चलिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसबारे सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताउनुभएको छ ।
कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा देउवाले आफू एक्लैले भनेर नहुने भन्दै यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताउनुभएको हो । पत्रकारहरुहरुले अर्ली इलेक्सनको सम्भावनाबारे सोधेको जिज्ञासामा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केही नेताहरुले पहिले बैशाखमा संघको निर्वाचन गरेर मंसिरमा स्थानीय तह र प्रदेशको निर्वाचन गराउनुपर्ने मत राख्दै आएका छन् । कांग्रेसका कतिपय नेताहरुले १४ औं महाधिवेशन सम्पन्न गरेलगत्तै ताजा जनादेशका लागि बैशाखमा संघको निर्वाचन गर्नुपर्ने आवाज उठाउने गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि केही दिन अगाडि अर्ली इलेक्सनको कुरा गर्नुभएको थियो । अर्ली इलेक्सनको बहस चले पनि बैशाख अघि स्थानीय तहको चुनाव गर्नैपर्ने संवैधानिक बाध्यता छ । प्रधानमन्त्री देउवाले एमसीसी नेपालको कानुनभन्दा माथि नभएको भन्दै यो संसदबाट पारित हुने बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया