दार्चुला । सरकारले सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल सम्वत् ११४४ (२०८० कात्तिक २८ गतेदेखि) विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
राष्ट्रिय विभूति शंखधर साख्वाले वि।सं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात् गराएका थिए । त्यसैले यसलाई नेपालको मौलिक संवतको रुपमा लिइन्छ ।
इतिहासका जानकारहरुका अनुसार लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म चलेको थियो । लिच्छविकाल अघि भने शक संवत् प्रचलनमा थियो ।
कात्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परासमेत काठमाडौंमा छ ।
२००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो ।
विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया