दार्चुला । दार्चुलासहित हिमाली र पहाडी भेगमा आज फागु अर्थात होली पर्व समापन गरिदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ्ग र लोला खेली मनाउने गरिन्छ ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने चलन छ ।दार्चुला सहित विभिन्न जिल्लाहरुमा ३-५ दिन अगाडीबाट सुरु भएको होली पर्व आज समापन गरिदैछ ।
हिरण्यकश्यपले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणहरुमा उल्लेख छ ।
शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिका दहन अर्थात चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरूवात भएको मानिन्छ ।
केही वर्षदेखि रङ्गको पर्व होली सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ्ग र लोला हान्ने क्रम बन्द भएको छ । प्रहरी र स्थानीय प्रशासनले होलीलाई सभ्य तरिकाले मनाउन आग्रह गरेको छ । होहल्ला नगरी, जाँडरक्सी तथा लागूपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध छ ।

यस्तै होली मनाउँदा आफ्नो स्वास्थ्य, सम्भावित दुर्घटना र सामाजिक मर्यादाबारे पनि ख्याल गर्न स्वास्थ्यकर्मी तथा विज्ञहरुले सुझाव दिएका छन् ।
रङ्गले कतिपयको छाला, फोक्सो तथा आँखामा एलर्जी गर्ने भएकाले यसतर्फ सचेत हुन डाक्टरको सुझाव छ । होली पर्वको अवसरमा आज हिमाली र पहाडी भेगमा सार्वजनिक बिदा छ । आज होलीको अन्तिम दिन सुदूरपश्चिममा होली पर्व समापन गरिदै छ ।
रंग र उमंग तथा खुसीको पर्व होली गाउँघर देखि बजार क्षेत्रमा भव्यताका साथ मनाइदैछ ।






प्रतिक्रिया