दार्चुला । सुदूरपश्चिम प्रदेश माओवादी संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्जसहितका नेताहरूको उपस्थितिमा बसेको बैठकले दलको नेता परिवर्तन गरेको हो ।
२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो । बिहीबार डडेल्धुराको एक सरकारी कार्यालयको गेस्ट हाउसमा बसेको बैठकले पुन: संसदीय दलको नेताको जिम्मेवारी भट्टलाई नै दिने निर्णय गरिएको हो । माओवादीका सबै सांसदहरूको उपस्थितिमा संसदीय दलको नेता परिवर्तन गरिएको उपमहासचिव तथा प्रदेश इन्चार्ज पोखरेलले जानकारी दिनुभयो ।
माओवादी अध्यक्ष प्रचण्डले यस अघि नै संसदीय दलको नेता परिवर्तन गर्न लिखित तथा मौखिक निर्देशन दिनुभएको थियो । आफ्नो पटक पटकको निर्देशन उल्लङ्घन भएपछि डडेल्धुरामा आफ्नै उपस्थितिमा बैठक राखेर प्रचण्डले दलको नेता परिवर्तनको निर्णय गराउनुभयो ।





प्रतिक्रिया