दार्चुला । ३२ औँ मदन–आश्रित स्मृति दिवस दार्चुलामा पनि मनाइएको छ ।
दिवसको अवसरमा नेपालको राजनीतिक परिर्वतनमा जनताको बहुदलिय जनवादको भूमिका विषयक अन्तरक्रिया सञ्चालन गरिएको मदन–आश्रित स्मृति प्रतिष्ठान जिल्ला शाखा दार्चुलाका अध्यक्ष एंव नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो ।
कार्यक्रममा नवीन विचारक जननेता मदन भण्डारीद्वारा प्रतिवादीत नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ले विभिन्न मुलुकहरूमा अपनाइएका लोकतान्त्रिक अवधारणाहरू, मानव जातीद्वारा सिर्जित सामाजिक मूल्य तथा मान्यता एवं मानव अधिकारका विश्वव्यापि दृष्टिकोणहरूलाई अंगीकार गर्दै न्याय र समानतामा आधारित शोषणरहित समाज निर्माण लगायतका विषयहरुको स्मरणसहित छलफल गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै एमाले पोलिट्ब्युरो सदस्य एंव कार्यक्रमका प्रमुख अतिथि गणेश सिंह ठगुन्नाले स्वर्गीय नेता मदन भण्डारी र जीवराज आश्रितप्रति श्रद्धासुमन ब्यक्त गर्दै नेता भण्डारीको मार्ग प्रेरणदायी भएको उल्लेख गर्नुभएको छ । आम जनता कार्यकर्ताहरु र सर्वसाधारण नागरिकले जवजको महत्व बुझनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेकपा (एमाले) का जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य हरदेव जोशी, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव पुलेन्द्र बहादुर कार्की, एमाले प्रदेश कमिटी सदस्य नगेन्द्र तिंकरी, हिरा सिंह धामी लगायत नेता कार्यकर्ताहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।
कार्यक्रमा नेपाल बुद्धिजिवी परिषद्का केन्द्रीय सदस्य धाना धामीले कार्य पत्र समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका सहभागीले जननेता मदन भण्डारी र कुसल संगठक जीवराज आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरेेका थिए । मदन-आश्रित स्मृति दिवस देशभर मनाइएको छ।





प्रतिक्रिया