दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दार्चुलाको विस्तारित बैठक सम्पन्न भएको छ । दार्चुला सदरमुकाम खलंगामा शनिबार (आज) बसेको बैठक सदस्यता नवीकरण र पार्टी अभियानबारे विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति दार्चुलाका संयोजक प्रेमराज पन्तको अध्यक्षता तथा माओवादीका केन्द्रीय कमिटी सदस्य लक्ष्मण जोशीको प्रमुख आतिथ्यता र केन्द्र, प्रदेश र जिल्ला कमिटीका नेताहरुको सहभागीतामा बैठक सम्पन्न भएको हो । बैठकले माओबादीको संगठित सदस्यता दशैंतिहार भित्रै नवीकरण गरिसक्ने, जनजनमा माओबादी अभियान अन्तरगत पार्टी कमिटी र सहायक तथा भातृ संगठनका गतिविधि सक्रियतापुर्वक सञ्चालन गर्ने लगायत निर्णय गरेको माओबादी जिल्ला समिति संयोजक प्रेम पन्तले बताउनुभयो ।
भेलाले जनतामा माओबादी, गाउँ नगर टोल बस्तिमा माओबादी, युवा, विद्यार्थी, महिला, दलित, किसानको बिचमा माओबादी, उत्पादन सामाजिक काम सम्मान र समस्या समाधानमा माओबादी र भ्रष्टाचारका बिरुद्ध, सुसासनको पक्षमा माओवादीको ३ महिने अभियान अन्तरगत विभिन्न गतिविधि गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी तोकिएका माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले अभियानको नेतृत्व गर्ने र प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति सदस्य सम्बन्धित भुगोलको अभियानमा जोडिने संयोजक पन्तले बताउनुभयो ।
उक्त अभियानको लागि जिल्लाको ब्याँस गाउपालिकामा केन्द्रीय सदस्य ललित ठगुन्नालाई जिम्मेवारी तोकिएको छ। त्यस्तै दुहुँ गाउँपालिका र महाकाली नगरपालिकामा केन्द्रीय सदस्य लक्ष्मण जोशी, मालिकार्जुन र लेकम गाउँपालिकामा केन्द्रीय सदस्य लक्ष्मी बिक, शैल्यशिखर नगरपालिका र नौगाड गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य मान बहादुर धामी, मार्मा र अपिहिमाल गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य जमन सिह धामीलाई जिम्मेवारी तोकिएको छ।





प्रतिक्रिया