दार्चुला । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी न्यौपानेलाई बनाउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई राज्य व्यवस्था समिति सभापति बनाउने निर्णय गरेको हो ।
कांग्रेसबाट राज्य व्यवस्था तथा सुशासन समिति सदस्य रहनुभएकी न्यौपाने संयुक्त समिति संसदीय सुनुवाइ समितिको पनि सभापति हुनुहुन्थ्यो । पार्टीले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार बनाउने भएपछि न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिनुभएको छ । उहाँले सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाउनुभएको हो ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदका लागि मनोनयन दर्ता गराउन आज दिउँसो ४ बजेसम्मको समय तोकिएको छ । निजामती विधेयकमा समावेश गरिएको कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहर्याएपछि तत्कालिन सभापति रामहरि खतिवडाले राजीनामा दिनुभएको थियो । रिक्त सभापती पदमा भोलि चुनाव हुँदैछ ।





प्रतिक्रिया