दार्चुला । नेपाली कांग्रेस दार्चुलाले भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनको क्रममा हिंसात्मक गतिविधि गर्दै सरकारी, सार्वजनिक र नीजि सम्पतिमा आगजनी तथा तोडफोड गर्नेहरुमाथि कारवाही गर्न माग गरेको छ । जेन जी आन्दोलको क्रममा भएका हिंसात्मक घट्ना र नीजि तथा सार्वजनिक सम्पतीमाथी भएको तोडफोडको घट्ना प्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले घोर आपत्ति जनाएको हो ।
नेपाली काग्रेस जिल्ला कार्य समिति दार्चुलाका सभापती ललित सिंह बोहराद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा कांग्रेस दार्चुलाले आन्दोलनको नाममा गरिएका आगजनी, तोडफोड र लुटपाटजस्ता उच्छृङ्खल कार्यप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कडा विरोध जनाएको छ। कांग्रेस पार्टी कार्यालयसहित अन्य दलका पार्टी कार्यालयहरू र सरकारी कार्यालयहरुमा भएका क्षतिको भत्र्सना गर्दै दोषीमाथि छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरिएको छ। “शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी आन्दोलनकारीको नाममा कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरूलाई अमानवीय व्यवहार गरिएको घटनाप्रति घोर आपत्ति छ,” विज्ञप्तिमा भनिएको छ।
कांग्रेस दार्चुलाले संसद् विघटन र अन्तरिम सरकार गठनको कुरा ‘जेनजी’ आन्दोलनलाई अलपत्र पार्ने र देशलाई संवैधानिक शून्यतातर्फ धकेल्ने बदनियत हो कि? भनी प्रश्न उठाएको छ। पार्टीले सरकारसँग आन्दालनका क्रममा भएको हिंसात्मक झडपमा परि मृत्यु भएकाहरुका परिवारलाई सम्मानसहित क्षतिपूर्ति दिन, घाइतेको निःशुल्क उपचार गर्न, आगजनी र तोडफोडबारे उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाही गर्न माग पनि गरेको छ। त्यसैगरी सबै दलसँग संवाद शुरू गरी संविधानको रक्षा, आन्दोलनले उठाएका मुद्दाको समाधान, क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण र निर्वाचनको वातावरण तयार पार्न साझा धारणा बनाउनुपर्नेमा पनि कांग्रेस दार्चुलाले जोड दिएको छ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग नागरिकको जन–धनको सुरक्षा र विश्वसनीय वातावरण सुनिश्चित गर्न आग्रह गरिएको छ। विषम परिस्थितिमा लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको उल्लेख गर्दै कांग्रेसले कानूनी शासन र लोकतान्त्रिक पद्धतिबाट समस्याको समाधान खोज्न सबैलाई अपिल गरेको छ।





प्रतिक्रिया