सरकारले थाल्यो निर्वाचनमुखी गतिविधि, आज सुरक्षा समितिको बैठक बस्दै

दार्चुला। सरकारले निर्वाचन सम्बन्धी योजना र छलफललाई तीव्रता दिएर आफू निर्वाचनमा केन्द्रित भएको सन्देश दिन खोजेको छ ।

गतसाता राजनीतिक दलका नेताहरुसँग प्रारम्भिक परामर्श अघि बढाएको सरकारले आइतबारदेखि निर्वाचन सुरक्षाका कार्यक्रमहरु अघि बढाउने तयारी गरेको हो । आइतबारदेखि निर्वाचन सुरक्षा रणनीतिको काम अघि बढ्नेछ ।

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार अपराह्न सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै राष्ट्रपतिको उपस्थितिमा सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनको तयारी र सुरक्षाबारे छलफल भएको जानकारी दिनुभयो ।

‘राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा गहन छलफल भएको छ’ प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल एक्सको पोष्टमा लेख्नुभएको छ, ‘निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सदृढ पार्ने विषयमा छलफल केन्द्रित थियो ।’

प्रधानमन्त्री कार्कीका अनुसार, त्यसक्रममा निर्वाचनको वातावरण तयार गर्न भइरहेको प्रयासको समीक्षा भएको थियो । त्यसक्रममा सबै सुरक्षा निकायका प्रमुखहरुले उच्च मनोबलका साथ सुरक्षा मिलाउन तयार रहेको बताएको उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयको पहलमा राजनीतिक दलका नेता र युवा पुस्ता (जेन–जी) का प्रतिनिधिहरुबिचको छलफल भइरहेकोमा त्यसबाट अघि बढेर सरकारले राजनीतिक दलका नेताहरुसँग भेटघाट र संवाद शुरु गरेको छ ।

प्रधानमन्त्री कार्कीले माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग भेट गरिसक्नुभएको छ। यो सातादेखि अरु नेताहरुसँग पनि छलफल अघि बढाउने योजना रहेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ । गृहमन्त्री अध्यक्ष रहने समितिमा गृह र रक्षा सचिवका साथै चारवटा सुरक्षा निकायको प्रतिनिधि सहभागी हुन्छन् ।

प्रधानमन्त्री कार्कीको सचिवालयले जारी गरेको प्रेस नोटका अनुसार, उक्त बैठकले एकीकृत सुरक्षा योजनाको समीक्षा गर्नुका साथै त्यसको समीक्षा गरी नीतिगत निर्देशन दिनेछ ।

यसका साथै गृह मन्त्रालयको शान्ति सुरक्षा र अपराध नियन्त्रण महाशाखा प्रमुखको नेतृत्वमा अर्को एकीकृत निर्वाचन सुरक्षा समिति गठन भएको छ । नयाँ सरकार गठन हुनासाथ बनेको समितिले सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लाहरुसँग समन्वय गर्नेछ ।

त्यसैगरी हरेक जिल्लामा सीडीओको नेतृत्वमा जिल्ला एकीकृत निर्वाचन सुरक्षा समिति बनाई कार्यान्वयन थालिएको प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्री कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेकी छन् । प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा ‘सरकारले निर्वाचनलाई प्राथमिकतामा राखेर आफ्ना गतिविधि केन्द्रित गरेको’ उल्लेख छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?