दार्चुला । नेकपा (एमाले) का युवा नेता हरदेव जोशी सुदूरपश्चिमको दार्चुलाबाट कालापानी लिपुलेक लिम्पियाधुराको मुद्धा उठाइरहनु हुन्छ। पार्टीका केन्द्रीय फोरम होस वा प्रादेशिक वा स्थानीय तहका कार्यक्रम किन नहुन् जोशी सधैं एउटा विषय छुटाउनुहुन्न ‘चुच्चे नक्सामा समेटिएको भू-भाग फिर्ता गर्नुपर्दछ। लिपुलेक र लिम्पियाधुरा भएको भूमी फिर्ता ल्याउनु पर्दछ ।’
जोशी हाल एमालेको केन्द्रीय सदस्य हुन् । भारत प्रवासमा बसेर एमालेको संगठन बिस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका जोशी पुन: केन्द्रीय सदस्य दोहोरिने तयारीमा छन् । ‘दशौं महाधिवेशनमा म केन्द्रीय सदस्यमा मनोनित भएको हुँ । यस पटक हलबाट नै म दोहोरिन चाहन्छु’ जोशी भन्नुहुन्छ ‘दार्चुलाको पार्टी निर्माणमा मैले विगतमा जति भूमिका निवर्ह गरें । भूगोलबाट केन्द्रीय सदस्य चुनिए भने त्यो भन्दा बढी भूमिका खेल्नेछु ।’ पार्टीको जबजको मार्गदर्शन अनुसार सुखी नेपाली, समृद्ध नेपालको आकांक्षा पुरा गर्न काम गर्नेछु।
आफ्नो जिल्लाबाट अधिकतम युवाहरु रोजगारीको खोजीमा भारततर्फ जाने हुनाले आफू पनि त्यही लयमा पढ्दै कमाउदै गर्ने उद्धेश्यले भारत प्रवासमा लामो समय बसेको जोशीले बताउनुभयो। भारतमा छँदा अखिल भारत स्वतन्त्र विद्यार्थी युनियन मार्फत नेपाली विद्यार्थीलाई एमालेमा संगठित गर्न उनले महत्वपूर्ण योगदान गरेका छन् । ‘२०४९ सालमा मदन भण्डारी दार्चुला जानु भएको थियो । उहाँको भाषण सुनेपछि म एमालेमा बढी प्रतिवद्ध भए’ ४९ वर्षीय जोशी भन्छन् ‘अबको एमाले, युवाको एमाले बनाउनका लागि हाम्रो पुस्ता पार्टी नेतृत्वमा जानु पर्दछ ।’
जोशीले महाधिवेशन मार्फत केपी शर्मा ओलीको निरन्तरता अहिलेको आवश्यकता रहेको स्पष्ट पार्नुभयो । जेन जी आन्दोलनका नाममा होस वा अरु कुनै बहानामा अध्यक्ष ओली माथी भएका आरोप र प्रहारलाई महाधिवेशनले खारेज गर्ने उनको धारणा छ । ‘अहिलेको अध्यक्षले एमाले हाकेर मात्र हुदैन । नेपालको राजनीतिको नै नेता हुनुपर्दछ’ जोशी भन्छन् ‘यसका लागि एमालेमा त ओलीको विकल्पको सवालै रहने । समकालिन राजनीतिमा पनि उहाँको विकल्प छैन ।’
जोशी २०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीको सचिवालयमा काम गरेका नेता हुन् । इमान्दार र बौद्धिक छबीका जोशी आफूलाई प्राप्त जिम्मेवारीलाई कुशलतापूवर्क निवार्ह गर्ने बताउनुहुन्छ। २०७९ सालको प्रदेश सभा निर्वाचनमा दार्चुलाबाट प्रदेश साँसदमा निर्वाचन भिडेका उहाँ गठबन्धनसँग पराजित भए । राजनीतिमा सधैं जित मात्र हासिल नहुने तर निरन्तरताको कुरा महत्वपूर्ण भएको उहाँको भनाइ छ ।
अघिल्लो महाधिवेशनको अनुभवले यस पटक काम गर्न सहज हुने उहाँले बताउनुभयो । ‘मैले पार्टीमा उठाउनु पर्ने मुद्धा, ति मुद्धालाई सरकार मार्फत सम्बोधन गराउनु पर्ने विषय धेरै छन्’ जोशी भन्नुहुन्छ, ‘रोजगारीको खोजीमा हजारौंको संख्यामा कालापहाड जाने मेरा दाजुभाइ दिदीबहिनीका मुद्धा जनजीविकाका सवालमा मुख्य मुद्धा बन्नुपर्दछ’ जोशी भन्नुहुन्छ ‘यस्ता मुद्धालाई सम्बोधन गरेर पार्टीलाई जनतामा स्थापित गर्न म सदैव तयार छु ।’ एमालेको ११औं महाधिवेशनबाट केन्द्रीय कमिटीमा आएर दार्चुलेली सहित जनता र देशको लागि काम गर्ने आफ्नो चाहाना रहेको उहाँको भनाइ छ।





प्रतिक्रिया