दार्चुला । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत बन्दसत्र आज ढिला गरी शुरू भएको छ । काठमाण्डाैको भृकुटीमण्डपमा बिहान साढे ७ बजेदेखि बन्दसत्र शुरू गर्ने यसअघिको निर्णय रहेकोमा केन्द्रीय कमिटी बैठकका कारण दिउँसो ३ बजेपछि शुरू भएको हो ।
बन्दसत्र शुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन गरेको छ । यसअघि गएको भदौमा भएको विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्ष पद खारेजसहित पदाधिकारी सङ्ख्या १९ बाट घटाएर १५ मा झारेको थियो ।
आजको बैठकले फेरि विधान संशाेधन गरेर अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी पदाधिकारी सङ्ख्या १९ जना कायम गरेको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
वरिष्ठ उपाध्यक्ष रहनुभएका ईश्वर पोखरेलले ११औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरूलाई व्यवस्थापन गर्ने गरी नवयुवा आन्दोलनलाई कारण देखाउँदै विधानमा संशोधन गर्नुभएको हो ।
अब एमालेको पदाधिकारी सङ्ख्या १९ सदस्यीय, स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीयसहित केन्द्रीय कमिटी ३ सय १ सदस्यीय कायम भएको छ ।
यस्तै बन्दसत्रले केन्द्रीय कमिटीमा चयन हुने ३ सय १ जनाको क्लस्टर निश्चित गरेको छ । जसमा १९ जना पदाधिकारी रहनेछन् । पदाधिकारी सबै खुला लडेर आउनुपर्नेछ । यस्तै उपत्यकासहित आठ प्रदेशबाट ९–९ का दरले ७२ जना चयन हुनेछन् । प्रदेशमा खुलातर्फ ५ जना, महिला ३ जना र युवा एक जना रहनेछन् । यस्तै खुलाबाट १ सय २५ जना चयन हुनेमा त्यसमध्ये ७१ खुला, ५२ महिला र २ युवाको कोटा छुटिएको छ । जनजाति/आदिवासीतर्फ २५ जनाको कोटा रहेकोमा त्यसभित्र १५ खुला, ८ महिला र दुई युवाका लागि काेटा सुरक्षित छ । २० जना कोटा रहेको मधेशीतर्फ ११ खुला, ६ महिला र २ युवाको कोटा छ । प्रवासतर्फ २ जनाको कोटा रहेकोमा भारतबाट १ र अन्य देशका लागि १ कोटा छ । श्रमिकतर्फ ३ जनाको कोटा रहेकोमा २ खुला र १ महिलाको कोटा छ । अपाङ्गता भएका व्यक्तिका लागि एउटा खुला कोटा छ । १२ जनाको कोटा रहेको दलिततर्फ ७ खुला, ४ महिला र युवाका लागि १ कोटा सुरक्षित छ । ८ जनाको कोटा रहेको थारुमा खुलातर्फ ५ र महिलातर्फ ३ तथा ५ जनाको कोटा रहेको मुस्लिममा ४ खुला र १ महिलाका लागि कोटा छ । पिछडिएको क्षेत्रका लागि दुई जनाको कोटा रहेकोमा १ खुला र १ महिलाको कोटा छ । सबै क्लस्टरमा गरी एमालेमा ४० वर्षमुनिका कम्तीमा १५ जना केन्द्रीय सदस्य हुने निश्चित भएको छ ।
यस्तै एमालेको ११औं महाधिवेशन अन्तर्गत चुनावी कार्यतालिका प्रकाशित भएको छ । जसअनुसार भोलि बिहान ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन, दाबीविरोध हुनेछ भने ११ बजेपछि उम्मेदवारी दर्ता शुरू हुनेछ ।





प्रतिक्रिया