दार्चुला । दाङको तुलसीपुरमा बिहीबार राति रास्वपा कार्यकर्ताले आफ्नो झण्डा जलाइदिएपछि एमालेका नेताकार्यकर्ता आक्रोशित भएका छन् । यद्यपि रास्वपाले यसलाई घुसपैठको दाबी गरेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडिओ र फोटोहरूमा रास्वपाको प्रचार गर्दै एमाले र केपी ओलीविरुद्ध नाराबाजी गर्दै झण्डा जलाइएको र घन्टी बजाएको प्रष्ट देखिन्छ । झण्डा जलाइएको ठाउँ तुलसीपुर एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो ।
यस विषयलाई लिएर महासचिव पोखरेलसहितका एमाले नेता(कार्यकर्ताले आक्रोश व्यक्त गरेका छन् । एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्स र विद्यार्थी संगठन अनेरास्ववियुले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको र पार्टीको झण्डा जलाउनेलाई तत्काल कारबाहीको माग गर्दै प्रतिकारमा उत्रने चेतावनी दिएका छ्न् ।
घोराहीमा आज आयोजना गरिएको प्रदेशस्तरीय सभाका लागि सभापति रवि लामिछाने हिजो तुलसीपुर हुँदै आयपुगेका छन् । झण्डा जलाएर आस्थामाथि प्रहार भएको भन्दै एमालेका नेता कार्यकर्ता आक्रोशित भएपछि दुई दलबीच द्वन्द्व बढ्न सक्ने देखिएको छ ।
एमाले दाङका सचिव श्याम डाँगीले निर्वाचनको समय नजिकिँदै गर्दा यस्ता गतिविधिले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन हुनेमा आशंका बढेको बताएका छन् ।
‘निर्वाचनको समय नजिकिँदै गर्दा यस्ता गतिविधिले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने कुरामा आशंका पैदा भएको छ । लोकतन्त्रविरोधी यस्तो कार्यले निर्वाचन मुठभेडतर्फ जान सक्छ । सुरक्षा निकायले गम्भीर ध्यान दिई दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्छ’, सचिव डाँगीले भनेका छन् ।
शान्ता चौधरी, कोमल वलीगायतका नेताले प्रतिद्वन्द्वी दलको प्रतीक वा झण्डामाथि आक्रमण गर्नु समग्र लोकतान्त्रिक प्रणालीमाथिको चुनौती भएको भन्दै रास्वपाको गतिविधिलाई निन्दनीय, अस्वीकार्य र पूर्ण रूपमा अराजकताको संज्ञा दिएका छन् ।
रास्वपा दाङका सभापति विनय घिमिरेले हिजो राति नै विज्ञप्ति निकाल्दै शुभेच्छुकहरूको उत्साहजनक उपस्थितिले अत्तालिएकाहरूले घुसपैठ गरी भ्रमपूर्ण वातावरण सिर्जना गरेको जिकिर गरेका छन् । झण्डा जलाउनेलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले पनि पार्टीको तर्फबाट कुनै दलको झण्डा जलाउने काम नहुने जनाउँदै यस्तो गतिविधिको संरक्षण नहुने जनाएका छन् ।





प्रतिक्रिया