श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

दार्चुला । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुङ्ग्याएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरि मत पाएको छ ।

सो पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ । सो मतका आधारमा सो पार्टीले ४ जना समानुपातिक तर्फका सांसद पठाउन पाउने छ । चार जना सांसद पाउने भएपछि हर्क साम्पाङ नेतृत्वको पार्टी आन्तरिक विवादमा फसेको थियो ।

विवादका बीचमा समानुपातिक सांसदहरूको टुङ्गो लागेको श्रम संस्कृति पार्टीका केन्द्रीय कोषाध्यक्ष समिता राईले जानकारी दिइन् । उनका अनुसार सो पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुङ्गो लागेको छ ।

यस अघि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि समानुपातिक तर्फबाट कसलाई प्रतिनिधिसभामा पठाउने भन्ने विषयमा पार्टीभित्र तीव्र मतभेद देखिएको थियो । सोही विवादका कारण खस आर्य अन्तरगत पहिलो नम्बरमा रहेका जीवन विष्टले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको बताएका थिए ।

उनले भने, ‘यो समय लोभी, पापी र अवसरवादी सोचबाट ग्रसित भई एकथान पदका लागि झगडा गर्दै हिँड्ने समय होइन। श्रद्धेय अध्यक्ष हर्क साम्पाङ र माटोमा विश्वास गर्दै मत हालेका हाम्रा सबै महान् मतदाता र एक्लापेछाटमा अर्जुन दृष्टि लगाएर निरन्तर श्रममा खटिँदै आउनुभएका श्रमदाताहरूको सम्मान गर्दै, अरू पार्टीमा जस्तो सबै अवसरवादी मात्र होइन, श्रम संस्कृति पार्टीमा त्याग गर्न सक्ने संस्कारी व्यक्तिहरू पनि छन् भन्ने नजिर स्थापित होस् भन्ने खातिर मैले आफ्नो नाम समानुपातिक बन्द सूचीबाट फिर्ता लिएको घोषणा गर्दछु।’

समानुपातिक तर्फबाट सांसद छान्न समस्या भएपछि नव निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पार्टीका अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भात खाऊ । मेरो टाउको नखाऊ ।’

उनले समानुपातिक विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने समेत बताएका थिए । पार्टीले समानुपातिक तर्फ ४ सिट पाउँदा समानुपातिकमा अन्तिम तर्फ सिफारिस भएकाहरूले समेत आफूmलाई सांसदको रूपमा सिफारिस गर्न माग राख्दै सामाजिक सञ्जालमा लेखेका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ। सो पार्टीले खोटाङ भोजपुर र सुनसरी १ मा प्रत्यक्ष तर्फ विजय हासिल गरेको हो । समानुपातिकमा पनि पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको हैसियत बनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?