दार्चुलामा प्रथम पालिकास्तरीय जिल्ला बाल मैत्रीपुर्ण छात्रछात्रा भलिबल प्रतियोगिता आयोजना हुँदै

दार्चुला । स्वस्थ बालबालिका, समृद्ध समाज’ भन्ने मूल नाराका साथ दार्चुलामा प्रथम पालिकास्तरीय जिल्ला बाल मैत्रीपूर्ण छात्रछात्रा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

जिल्ला बाल सञ्जाल दार्चुला र महाकाली बाल सञ्जाल खलङ्गाको संयुक्त आयोजनामा बाल दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता भदौ २६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले भदौ २६ गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ। आयोजकले टिम प्रवेश शुल्क ५ हजार रुपैयाँ तोकेको छ।

प्रतियोगितामा छात्र र छात्रा दुवै विधाका विजेतालाई समान पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने टिमले ७० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, द्वितीय हुने टिमलाई ३१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

सान्त्वना स्थान प्राप्त गर्ने दुई टिमलाई जनही १६ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। यसका साथै बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट लिब्रो, बेस्ट सर्भर र बेस्ट ब्लकरलाई समेत नगद पुरस्कार र प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ।

प्रतियोगितामा १८ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउनेछन्। सहभागी खेलाडीले जन्मदर्ता र नागरिकताको प्रतिलिपिसँगै कक्षा ८ वा १० को मार्कसिटको प्रतिलिपि अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

आयोजकका अनुसार प्रत्येक टिममा सहभागी खेलाडी एउटै स्थानीय तहका हुनुपर्नेछ। खेल अवधिभर खेलाडीका लागि पोसाक अनिवार्य गरिएको छ भने प्रत्येक टिमसँग एक जना खेल प्रशिक्षक र एक जना व्यवस्थापक अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

प्रतियोगितालाई दार्चुलाका नौवटै स्थानीय तह तथा विभिन्न संघसंस्थाले सहजीकरण गरेका छन्। जिल्ला खेलकुद समिति दार्चुलाले प्रतियोगिताका लागि समन्वय तथा सहकार्य गरेको आयोजकले जनाएको छ।

प्रतियोगितासम्बन्धी थप जानकारीका लागि आयोजक समितिका राजेश धामीको मोबाइल नम्बर ९९७६६०६००८१० मा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?