दार्चुला — व्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा पुर्पक्षका लागि कारागार चलान गरिएका आठै जनालाई धरौटीमा छाड्न उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले आदेश दिएको छ। उच्च अदालतले जिल्ला अदालत दार्चुलाले गरेको थुनामा राख्ने आदेश बदर गर्दै आठै जना प्रतिवादीलाई धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
अदालतको आदेशअनुसार परमानन्द भट्ट र दलिदत्त भट्टलाई जनही दुई लाख रुपैयाँ, खिमानन्द भट्ट, हरिदत्त भट्ट, पुष्करराज भट्ट र पदमराज भट्टलाई जनही एक लाख ५० हजार रुपैयाँ तथा नरेन्द्रदत्त भट्ट र विक्रमसिंह कुँवरलाई जनही एक लाख रुपैयाँ धरौटी माग गरिएको छ। मागबमोजिमको धरौटी बुझाएपछि प्रतिवादीहरूलाई तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिइएको छ। धरौटी दिन नसके कानुनबमोजिम गर्नसमेत आदेशमा उल्लेख छ।
यो आदेशसँगै उनीहरूलाई मुद्दाको अन्तिम फैसला नहुँदासम्म धरौटीमा बाहिर रहेर मुद्दाको पुर्पक्ष गर्ने बाटो खुलेको छ।
विद्यालयमै प्रधानाध्यापक धामी मृत फेला
मालिकार्जुन गाउँपालिका–२ घर भएका ४६ वर्षीय बलदेवसिंह धामी व्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो। २०८३ जेठ ४ गते सोमबार उहाँ विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो। धामी २०७७ सालदेखि सम्पाल माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत हुनुहुन्थ्यो।
मृत्यु हुनुअघि धामीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्नुभएको थियो। उक्त स्टाटसमा उहाँले आफूलाई विभिन्न आरोप लगाएर योजनाबद्ध रूपमा फसाउन खोजिएको, आफ्नो सामाजिक प्रतिष्ठा र आत्मसम्मानमा चोट पुगेको तथा आफू मानसिक तनावमा परेको लगायतका विषय उल्लेख गर्नुभएको थियो।
उहाँले विद्यालयमा आफूले गरेको काम, विद्यालयको विकासमा पुर्याएको योगदान तथा आफूविरुद्ध भएका भनिएका गतिविधिबारे समेत लामो विवरण सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको थियो।
धामीले स्टाटसमा आफूलाई लगाइएको आरोप असत्य भएको दाबी गर्दै अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन र आफूले न्याय पाउनुपर्ने मागसमेत गर्नुभएको थियो।धामीको मृत्यु भएपछि उहाँले सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको स्टाटसलाई समेत आधार बनाएर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो।जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनालाई ज्यानसम्बन्धी कसुरअन्तर्गत आत्महत्या दुरुत्साहनको कोणबाट अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा धामीले सामाजिक सञ्जालमा नाम उल्लेख गरेका व्यक्तिहरूमध्ये आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूलाई जिल्ला अदालत दार्चुलाबाट हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान अघि बढाइएको थियो।
मृत्युअघि धामीले लेखेको लामो स्टाटसमा आफूलाई बलात्कार, भ्रष्टाचारलगायतका आरोप लगाएर योजनाबद्ध रूपमा फसाउन खोजिएको दाबी गरिएको थियो। धामीले आफूविरुद्ध विभिन्न व्यक्ति र समूहले षड्यन्त्र गरेको आरोप लगाउँदै फोन सम्पर्क, सामाजिक सञ्जालका गतिविधि तथा आफूविरुद्ध भएका भनिएका आरोपबारे अनुसन्धान गर्न माग गर्नुभएको थियो।प्रधानाध्यापक धामीको मृत्युको घटनापछि दार्चुलाको शैक्षिक क्षेत्रसमेत आन्दोलित बनेको थियो।प्रधानाध्यापक संघ नेपाल दार्चुला तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालले घटनाको निष्पक्ष, पारदर्शी र उच्चस्तरीय छानबिन गर्न माग गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।
जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागार
प्रहरी अनुसन्धान पूरा भएपछि पक्राउ परेका व्यक्तिहरूविरुद्ध जिल्ला अदालत दार्चुलामा मुद्दा अघि बढाइएको थियो। अदालतमा बयान तथा थुनछेक बहसको प्रक्रिया अघि बढेपछि जिल्ला अदालत दार्चुलाले आठै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो। जिल्ला अदालतको आदेशपछि प्रतिवादीहरूलाई कारागारमा राखिएको थियो। उक्त आदेशपछि पनि पीडित पक्षले घटनाको थप अनुसन्धान तथा प्रमाणको वैज्ञानिक परीक्षण गर्नुपर्ने माग गर्दै आएको थियो।
जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागार चलान गरिएपछि प्रतिवादीहरू उच्च अदालत पुगेका थिए। उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासमा भएको सुनुवाइपछि जिल्लाको आदेश बदर गर्दै आठै जनालाई धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको हो। अब अदालतले तोकेको धरौटी रकम बुझाएपछि प्रतिवादीहरू कारागारबाट बाहिर आउनेछन् र तारिखमा रही मुद्दाको पुर्पक्ष गर्नेछन्। धरौटीको रकम नबुझाएमा भने आदेशअनुसार कानुनबमोजिमको प्रक्रिया अघि बढ्नेछ।





प्रतिक्रिया