दार्चुलामा जीपबाट खसेर डिलासैनीका ३० वर्षीय सन्तोष जागरीको मृत्यु, घटना शंकास्पद रहेको परिवारको भनाइ

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ बिटुलेमा जीपबाट खसेर बैतडीको डिलासैनी गाउँपालिकाका ३० वर्षीय सन्तोष जागरीको मृत्यु भएको छ।

सोमबार दिउँसो सुपप्र०१००१ ज १६९० नम्बरको जीपबाट खसेर जागरी गम्भीर घाइते हुनुभएको थियो। चलिरहेको जीपको ढोकाबाट खसेका जागरीको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि लैजाने क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार जागरी आफैँ पनि सवारी चालक हुनुहुन्थ्यो। उहाँ सोमबार बिहान गन्नाबाट साथीहरूसँगै बिटुले जानुभएको थियो।

घटनापछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जीप चालकसहित जीपमा सवार तीनै जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक निरज सिंह भाटले जानकारी दिनुभयो।

जीप चालकसहित उक्त जीपमा रहेका तीनै जनाले मादक पदार्थ सेवन गरेको प्रत्यक्षदर्शीले दाबी गरेका छन्। यद्यपि, घटनाको वास्तविक कारण र मादक पदार्थ सेवन गरेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दिउँसो करिब १२ बजे घटना भएको भए पनि परिवारलाई साँझ ४–५ बजेतिर मात्रै घटनाबारे जानकारी गराइएको मृतक जागरीका सालो पुष्कर खत्रीले बताउनुभयो।

घटना शंकास्पद रहेको भन्दै मृतकका परिवारले निष्पक्ष अनुसन्धान गरी घटनाको वास्तविकता बाहिर ल्याउन माग गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?