दार्चुला । नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय नाघेको छ ।
गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १८ सय तीन पुगेको छ ।
यस्तै गएको २४ घण्टामा नौ सय ५२ जना कोरोनामुक्त भएका छन् । योसँगै अहिलेसम्म दुई लाख ४६ हजार ६ सय ६१ जनाले कोरोनालाई जितेका छन् ।
यसैगरी नेपालमा गएको २४ घण्टामा सात सय ४३ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ५५ हजार नौ सय ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ६ हजार पाँच सय ५९ जनाको पीसीआर परीक्षण भएकोमा सात सय ४३ जनामा सङ्क्रमण देखिएको हो ।
यसैबीच सरकारले बेलायतमा कोरोना भाइरसको ‘नयाँ प्रजाति’ देखिएकाले त्यहाँबाट र त्यहाँको ट्रान्जिट बनाएर नेपाल आउनेलाई अनिवार्य १० दिन होटल क्वरेण्टीनमा बस्न आग्रह गरेको छ । नेपाल प्रवेश गरेको सातदेखि १० दिनभित्र अनिवार्य पीसीआर परीक्षण गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
बेलायत र त्यहाँको ट्रान्जिट बनाएर आएका व्यक्तिको निःशुल्क पीसीआर परीक्षण गर्न सबै सरकारी प्रयोगशालालाई मन्त्रालयले निर्देशन दिएको छ ।






प्रतिक्रिया